तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आज आयोजित २७ औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले यस क्षेत्रका समस्या समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती समस्याको समाधान गर्नेछ ।” सरकारले गरेका केही नीतिगत व्यवस्थाले व्यवसायीलाई अप्ठेरो पारेको भए त्यसको समाधान का लागि छलफल गर्न सकिने उहाँले बताउनुभयो ।

“यस क्षेत्रका समस्या बुँदागत रुपमा ठाउँमा राखाँै, म स्वागत गर्न चाहन्छु । ती समस्या समाधान गर्न सरकारले पूराका पूरा सहयोग गर्नेछ”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा देखा परेका समस्या सम्बद्ध सरोकारवालासँगको छलफलमा टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

नीति, निर्णय गर्दा सरोकारवालासँग परामर्श गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकार पछिल्लो समय सबै सरोकारवाला पक्षसँग समन्वय गर्ने पक्षमा रहेको बताउनुभयो । वैदेशिक रोजगारीको प्रभाव र परिणाम अत्यन्त ज्यादा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोरखेलले रोजगारीले नेपालको अर्थतन्त्र, सामाजिक, सांस्कृतिक तथा व्यक्तिको जीवनमा पारेको प्रभावका बारेमा छलफल गर्न आग्रह गर्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“व्यवसायीसँग कुनै वैरभाव छैन, म मन्त्री रहुन्जेल यस क्षेत्रको सुधारको पक्षमा काम गरिरहन्छु”, उहाँले भन्नुभयो, “व्यवसायीको समस्या सुन्न चाहन्छु एक्लाएक्लै भए पनि समूहगत भए पनि म व्यवसायीको समस्या सुन्छु तर त्यो व्यवहारिक हुनुपर्छ । यो सरकार व्यवसायीकै हो ।”

व्यवसायीको सुझाव सरकारले ग्रहण गर्ने उल्लेख गर्दै मन्त्री विष्टले सरकार र व्यवसायीबीचको छलफललाई औचित्यपूर्ण बनाउन आग्रह गर्नुभयो । “व्यवसायीको समस्या पनि सुनौला, आमजनताको समस्या पनि सरकारले सुन्नै पर्छ । रोजगारीका खोजीमा लाखौँ युवा बाहिरिएका छन्, ती युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै मन्त्री विष्टले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन जरुरी रहेको बताउनुभयो ।

वैदेशिक रोजगार विभागका महानिर्देक डा भीष्मकुमार भुसालले प्रणालीको सुधारको पक्षमा विभागसँग हातेमालो गर्न व्यवासायीलाई आग्रह गर्नुभयो । सङ्घका महासचिव सरोजकुमार पोखरेलले व्यवसायीको हक, हित र अधिकारका लागि सङ्घ अगाडि बढेको बताउनुभयो । राज्यले व्यवसायीलाई उचित सम्बोधन गर्न नसकेको गुनासो उहाँको थियो ।

सङ्घको नयाँ नेतृत्व चयन गर्न आजै निर्वाचन

नेपाल वैदेशिक रोजगार व्यवासयी सङ्घको नयाँ नेतृत्व चयनका लागि आजै निर्वाचन हुँदैछ ।

निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।

नेकपा र सङ्घीय समाजवादी पार्टीलगायत प्रगतिशील समूहको तर्फबाट अध्यक्षमा सरोजकुमार पोखरेलले उम्मेदवारी दिनुभएको छ । त्यस्तै संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्धितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिएका छन् ।

सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवको उम्मेदवारी परेको सङ्घले जनाएको छ ।

यसैगरी काङ्ग्रेस निकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी परेको छ । त्यसैगरी सोही समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्धितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी परेको छ ।

यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button