तपाईँ सुन्दै हुनुहुन्छः

द्वन्द्वपीडितहरुको समस्या जटिल

विराटनगर। द्वन्द्वबाट घाइते भएकाहरुले आफूहरूलाई आवश्यक पर्ने सहयोग कसैबाट नभएको गुनासो गरेका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो गुनासो गरेका हुन् ।विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले राज्यले सबै द्वन्द्वपीडितलाई समेटेर लैजानुपर्ने र उनीहरुलाई शिक्षा तथा रोजगारीको व्यवस्था गरी उपचारको राम्रो प्रबन्ध मिलाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय अपाङ्ग सङ्घ सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले आफू सानो हँुदा द्वन्द्वमा परेर दुवै हात गुमाउन परेको व्यथा सुनाउनुभयो । उहाँले द्वन्द्वपीडितले न्याय नपाएसम्म लोकतन्त्र र गणतन्त्रको महत्व नहुने धारणा व्यक्त गर्नुुभयो । द्वन्द्वको समयमा घाइते हुनुभएका उदयपुर कटारीका वीरबहादुर विकको एउटा खुट्टा छैन, ५५ वर्षीय उहाँले आफ्नो आर्थिक हैसियत राम्रो नभएकाले जीवन यापनमा समस्या रहेको गुनासो गर्नुभयो ।

अर्का द्वन्द्वपीडित इलाम निवासी दुर्गा भट्टराईले द्वन्द्वका कारण घाइते भएपछि आफ्नो जीवन नै अन्धकार भएको बताउनुभयो । अहिले शरीरको तलको भाग नचल्ने भएकाले अर्थोपार्जन गर्न नसक्दा छोराछोरीले पनि अध्ययन गर्न नपाएको र आफ्ना सबै खुशी हराएको छ भन्दै भावविह्वल हुनुभयो ।

आफूहरूलाई उचित व्यवस्थापन गर्न र सम्मानपूर्वक जीवन निर्वाहको वातावरण मिलाउन, क्षमता तथा दक्षताअनुसारको सीप विकास तालीम दिन, रोजगारीको अवसर जुटाउन र द्वन्द्वको घाउ मेटाउने किसिमको काम राज्यले गर्नुपर्ने द्वन्द्वपीडितहरुको माग थियो ।
गर्भपतन सेवा सरकारी अस्पतालमा निःशुल्क

विराटनगरस्थित प्रादेशिक (कोशी) अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । दैनिक चारदेखि पाँच महिला सुरक्षित गर्भपतन गराउन आउने गरेको उक्त अस्पतालका शाखा प्रमुख गीता कोइरालाले बताउनुभयोे । सरकारले अनिच्छित गर्भपतन गराउन पाउने व्यवस्था गरेकैले गर्भपतन गर्ने महिलाको सङ्ख्या बढेको उहाँको भनाइ थियो ।

उक्त अस्पतालमा गर्भपतनका सबै सेवा र सुविधा निःशुल्क छ । निःशुल्क सेवा र सुरक्षित गर्भपतन हुनेबारे थाहा पाएपछि यहाँ सुरक्षित गर्भपतनका लागि विराटनगरवासीसहित रङ्गेली, इटहरी, लेटाङ र धरानबाटसमेत महिला आउने गरेको शाखा प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

यो सेवा मेरी स्टोप, क्लिनिक र परिवार नियोजन सङ्घमा पनि उपलब्ध छ तर सुरक्षित सोवाका लागि र सबै सुविधा एवं उपकरण उपलब्ध भएकाले सोही अस्पतालमै यस्ता प्रकृतिका महिलाको आकर्षण बढेको हो । सन्तानको रहर पुगेका महिलाबाहेक अनिच्छित गर्भधारण गरेका कुमारी युवतीहरु पनि यो सेवा लिन अस्पतालमै आउने गरेका छन् ।

गर्भ रहेको १२ हप्तासम्मका लाई अस्पतालले गर्भपतन गर्ने गरेकामा एक हप्तादेखि नौ हप्तासम्मको गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढी रहेको प्रमुख कोइरालाको भनाइ थियो । सुरक्षित गर्भपतन गराउन आउनेमा १७ वर्षीय युवतीदेखि ४० वर्षको महिलासम्म छन् । अझै पनि महिला र पुरुषले परिवार नियोजनको साधन प्रयोग नगर्ने गरेका कारण यो समस्या बढेको बताइएको छ ।

अस्पतालमा गर्भपतन गराउन आउने महिलालाई आफूहरुले परिवार नियोजनका साधनहरुका बारेमा परामर्श तथा सचेतपनि गराइरहेको प्रमुख कोइरालाको भनाइ थियो ।सरकारी अस्पतालले नै यो सेवा दिन थालेपछि निजी स्तरमा खोलिएका अस्पताल वा क्लिनिकमा गर्भपतन गराउनेहरुका सङ्ख्या निकै घटेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button