तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपालमा प्रारम्भिक बालविकास प्रवद्र्धन पुस्तिका’ सार्वजनिक

काठमाडौं ।प्रारम्भिक बालविकासको अवस्थाबारे चर्चा गरिएकोे पुस्तक ‘नेपालमा प्रारम्भिक बालविकास प्रवद्र्धन पुस्तिका’ सार्वजनिक भएको छ । प्रारम्भिक बालविकासमा कार्यरत गैरसरकारी संस्था सेतो गुराँस राष्ट्रिय बालविकास केन्द्रले राष्ट्र सङ्घीय बालकोष (युनिसेफ), प्लान नेपाल र सेभ द चिल्ड्रेनको आर्थिक एवं प्राविधिक सहयोगमा सार्वजनिक गरेको सो पुस्तकको लेखन मधु राजभण्डारी, श्रीहरि खनाल, डा मीनाक्षी दाहाल र डा किशोर श्रेष्ठले गर्नुभएको हो ।

साठी पृष्ठको सो पुस्तकभित्र बाल विकाससम्बन्धी पृष्ठभूमि, यसमा लगानीको औचित्य, अन्तरराष्ट्रिय अभ्यास, नेपालमा प्रारम्भिक बालविकास, सञ्चालित कार्यक्रम, विभिन्न निकायको भूमिका, गुणस्तर विकास र विस्तारका सम्भावनालगायत विषय समेटिएका छन् । संविधानको धारा ३९ मा प्रारम्भिक बालविकासलाई मौलिक हकका रुपमा समावेश गरिएको छ तर कार्यान्वयनका लागि हालसम्म ऐन बनेको छैन । हाल सेतो गुराँसमा सामुदायिक बालविकास केन्द्र÷बालकक्ष तथा पूर्वप्राथमिक कक्ष गरी ३६ हजार ५६८ कक्षा सञ्चालित छन् ।

गर्भावस्थादेखि आठ वर्षमुनिका बालबालिकालाई लक्षित सिकाइलाई प्रारम्भिक बालविकास भन्ने गरिन्छ । यस अवधिमा बालबालिकाको सिकाइ विकसित भइसकेको हुन्छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले प्रारम्भिक बालविकासका क्षेत्रमा राज्यको लगानी बढाउँदै जाने नीति रहेको जानकारी दिनुभयो ।

उहाँले अहिलेको लगानी भौतिक पूर्वाधार विकासमा बढी र समाजिक क्षेत्रमा कम रहेको ,बजेटको अधिकांश हिस्सा प्रदेश र स्थानीय निकायम जाने गरेको चर्चा गर्दै दिगो विकासका लक्ष्य र नेपालले अन्तरराष्ट्रिय क्षेत्रमा गरेका प्रवितबद्धता पूरा गर्न सामूहिक सहकार्यको आवश्यकता रहेको बताउनुभयो । प्रारम्भिक बालविकासका लागि सांसदको सहकार्य तथा समन्वय समूहका सहसंयोजक एवं सांसद एकवाल मियाँले प्रारम्भिक बालविकासमा सरकारको लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

राष्ट्रियसभाका सांसद डा विमला राई पौडेलले प्रारम्भिक बालविकासका लागि पहुँच नपुगेका र पुगेका स्थानमा पनि गुणस्तरीय सिकाइ नभएको बताउनुभयो । पुस्तकको समीक्षा गर्दै उहाँले भन्नुभयो, “मानव विकासका लागि लगानीको प्रारम्भिक बिन्दु नै प्रारम्भिक बालविकास हो । नेपालमा यस क्षेत्रमा अझै ध्यान गएको छैन । बालविकासको अवस्थालाई यस पुस्तकले विस्तृतरुपमा समेटेको छ । ”

प्रारम्भिक बालविकासलाई नीतिगत तहबाटै सम्बोधन गर्नुपर्छ भन्ने अभिप्रायले विसं २०६६ पुस १२ गते प्रारम्भिक बालविकासका लागि सङ्घीय संसद्का सांसदको सहकार्य र समन्वय समूहसमेत गठन भएको थियो । हाल सो समूह प्रदेश तहमा पनि गठन गर्ने तयारी भइरहेको छ ।आयोजक संस्था बालविकास सेवा केन्द्रका अध्यक्ष एवं पूर्वसचिव जयराम गिरी र केन्द्रका संस्थापक अगाथा थापाले प्रारम्भिक बालविकासलाई विकासको जगका रुपमा लिइ बालबालिकाको स्याहार, संरक्षण, पोषण र सिकाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button