तपाईँ सुन्दै हुनुहुन्छः

एएफसी यु–१६ आज नेपाल र ताजिकिस्तान भिड्ने

काठमाडौँ – जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेल ताजिकिस्तानसँग खेल्दैछ ।

जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा नेपालले जित निकाल्ने उद्देश्यका साथ बलियो प्रतिद्वन्द्वी ताजकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ ।

यसअघि खेलेको अघिल्ला दुई खेलमा नेपालले एक अङ्क जोडेको छ । पहिलो खेलमा घरेलु टोली जोर्डनसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको थियो । यद्यपि दोस्रो खेलमा भने नेपालले खेलमा पुनरागमन गर्दै कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

यसअघि समान दुई खेल नै खेलेको ताजिकिस्तान दुवै खेलमा जित हाँसिल गर्दै छ अङ्क जोडेको छ । उक्त छनोट च्याम्पियनसिपमा विभिन्न ४८ वटा राष्ट्र सहभागी छन् जसलाई एघार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलङ्का  छन् । जारी प्रतियोगितामा ताजिकिस्तान शीर्ष स्थानमा छ भने जोर्डन दोस्रो स्थानमा छ ।

चार अङ्कका साथ कुवेत तेस्रो स्थानमा छ भने एक अङ्क बटुलेको नेपाल चौथो स्थानमा छ । तीन खेल खेलेको श्रीलङ्का तीनै खेलमा पराजय भोग्दै अङ्क तालिकाको पुछारमा छ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button