तपाईँ सुन्दै हुनुहुन्छः

गाँउमा अधिकार पुर्याउन ‘विकास शिविर’

दोलखा – सिंहदरवारको अधिकार गाँउमा पुर्याउने संघिय व्यवस्थाको लक्ष्य पुरा गर्न दोलखाको कालिञ्चोक गाँउपालिकाले प्रत्येक वडामा विकास शिविर सुरु गरेको छ ।

विशेषगरी विकासे योजनाहरु सम्झौता गर्न गाँउपालिकाको केन्द्रमै आउनु पर्ने अवस्थाले दुर्गम वडाका वासिन्दालाई समस्याहुने गरेकोले गाँउपालिकाले प्रत्येक वडामा पुगेर आयोजनाको सम्झौता लगायत गाँउपालिकाबाट उपलब्ध गर्नुपर्ने सेवा दिन विकास शिविरको नामले विशेष अभियान सुरु गरेको कालिञ्चोक गाँउपालिकाका प्रमुख विनकुमार थामीले बताउनुभयो ।

नौ वटा वडा भएको कालिञ्चोक गाँउपालिकाको केहि वडाबाट केन्द्रमा पुग्न ४० किलोमिटरसम्मको दूरी तय गर्नु पर्ने अवस्था रहेको छ । जसको कारण बिभिन्न वडामा सञ्चालन हुने विकासे योजना सम्झौताको लागि उपभोक्ताहरु गाँउपालिकाको केन्द्रमै पुग्नु पर्ने बाध्यता हुदा श्रम र आर्थिक नोक्सानी हुने देखिएकोले विकास शिविर आयोजना गरिएको कालिञ्चोक गाँउपालिकाका प्रवक्ता इन्जिनियर नारायण शिवाकोटी बताउनु हुन्छ ।

दोलखाको कालिञ्चोक गाँउपालिकामा आर्थिक बर्ष ०७६/०७७ को लागि वडागत हिसाबले प्रत्येक वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, सडक, कृषि आदि गरी सरदर ४०÷५० वटा विकासे योजना छनौट भएका छन् । ती योजनाहरु सम्झौताको लागि उपभोक्ताहरुलाई गाँउपालिकाको केन्द्रमै बोलाउदा बिभिन्न खालका प्राविधिक समस्यासंगै उपभोक्ता समितिका सदस्यहरुको समयको वर्वादि र आर्थिक रुपमा समेत नोक्सानि हुने देखिएकोले गाँउ कार्यपालिकाको बैठकलेनै निर्णय गरेर प्रत्येक वडामा विकास शिविरको सुरुवात गरिएको इन्जिनियर शिवाकोटीको भनाई छ ।

विकास शिविरको क्रममा स्थानियको स्वास्थ्य परिक्षण, पशु पंक्षिको जाँच तथा औषधि वितरण, कृषि सम्बन्धि परामर्श लगायतका सेवा समेत प्रदान गरिएको गाँउपालिकाका प्रवक्ता इन्जिनियर शिवाकोटीले बताउनुभयो ।

गाँउपालिकाले विकास शिविरको सुरुवात वडा नम्बर ९ सुन्द्रावतीबाट गरेको छ । विकास शिविर उद्घाटनको अवसरमा प्रदेश सांसद एवं नेकपाका नेता पशुपति चौलागाईले कालिञ्चोक गाँउपालिकाले सिंहदरवारको अधिकार गाँउबाटै प्रदान गर्ने संघिय व्यवस्थाको भावना अनुसार काम गरेको भन्दै खुशी व्यक्त गर्नु भएको थियो ।

गाँउपालिकाले बार्षिक खरीद योजना बनाएर विकास शिविर मार्फत वडामा सञ्चालन हुने आयोजनाहरुको सम्झौता सुरु गरेको छ । वडा नम्बर ९ मा विकास शिविर मार्फत २५ वटा आयोजनाको सम्झौता गरिएको इन्जिनियर शिवाकोटीले बताउनु भयो । कुनै योजनाको सम्झौता शिविरको क्रममा हुन सकेन भने त्यसका उपभोक्ताहरु भने गाँउपालिकाको केन्द्रमै आउनु पर्ने शिवाकोटी बताउनु हुन्छ ।

गाँउपालिकाले मङ्सीरको दोस्रो हप्तासम्ममा आर्थिक बर्ष ०७६/०७७ को लागि छनौट भएका सबै आयोजनाको सम्झौता सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ । संघिय व्यवस्था सुरु भएपछि पनि नेताहरुले भनेजस्तो सिंहदरवारको अधिकार गाँउमा प्राप्त गर्न नसकेको गुनासो गर्ने स्थानियले यो अभियान पछि गाँउबाटै सबैकाम हुने अवस्था बनेको भन्दै खुशी व्यक्त गरेको गाँउपालिका उपाध्यक्ष कालिका पाठक बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button