तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

ओखलढुंगा –वर्षाका कारण सडक अवरुद्ध भएपछि घुर्मीसहितका क्षेत्रमा यात्रु अलपत्र परेका छन् । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गका विभिन्न ठाँउमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि बिच बाटैमा यात्रु अलपत्र परेका हुन् ।

धेरै ठाउँमा सडक भत्किएको र बुधबार बिहानै देखि खोलाहरुमा बाढी आएकाले सवारी आवगमन ठप्प भएको घुर्मी प्रहरी विटका ईन्चार्ज पहलमान कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्गबाट काठमाण्डौका लागि छुटेका र काठमाण्डौ बाट माथिल्लो सगरमाथामा पर्ने यी तीन जिल्ला तर्फ आउँदैगरेका सवारी बिच बाटोमा अलपत्र परेका छन् ।

मानेभञ्ज्याङ्ग गाउँपालिका–६ ओखलढुंगाको भडारे खोला, उदयपुरको बादुरा खोला र सिन्धुलीको सोखु खोलामा आएको बाढीका कारण सवारी अवरुद्ध छन् । उदयपुरको घुर्मी बजारमा नजिकै सडक भासिएपछि सवारी पास हुन नसकेको स्थानीय चन्दन साहले बताउनुभयो । सिद्धिचरण लोममार्गको घुर्मी–कटारी र घुर्मी–खुर्कोट सडकमा सवारी ठप्प छन् ।

त्यस्तै उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोला र सिन्धुलीको फिकल गाउँपालिकामा पर्ने सोखु खोलामा आएको बाढिले काठमाडौं तर्फ जाने–आउने सवारी सबै रोकिएका छन् । अलपत्र परेका अधिकांश यात्रुहरु सोलुखुम्बु, खोटाङ र ओखलढुंगाबाट काठमाडौं तर्फ आउने–जाने छन् ।

ओखलढंगाको भडारे खोलाको बाटो खोल्नका लागि प्रयास भईरहेको विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्गबाट काठमाण्डौ र तराईका लागि छुटेका सवारी ओखलढुंगाको हिलेपानी, उदयपुरको घुर्मी बजार लगायतका सिन्धुलीका विभिन्न ठाउँहरुमा रोकिएका छन् । घुर्मी बजार आसपासको अवरोध हटाउने प्रयास भईरहेको घुर्मी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button