तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक लगानीका लागि भरपर्दो स्रोत : सञ्चयकोष

काठमाण्डौ ।आन्तरिक लगानीका लागि भरपर्दो र विश्वासिलो संस्थाका रुपमा स्थापित हुँदै गएको कर्मचारी सञ्चयकोषले रु तीन खर्ब ४५ अर्ब बराबरको वित्तीय स्रोतको व्यवस्थापन गर्दै आएको छ ।

करीब छ लाख सञ्चयकर्ताले मासिक कोष कट्टी गरेर जम्मा गरेको रकम बढ्दै गएको सन्दर्भमा लगानीका विविध क्षेत्र र आयामको खोजीमा कोष क्रियाशील भएर लागेको छ । कोषमा रु तीन खर्ब नौ अर्ब ८५ करोड बराबरको कोष मौज्दात छ । यस्तै रु ३१ अर्ब ४५ करोड जगेडा कोषमा छ । अन्य दायित्व तथा व्यवस्था भने रु चार अर्ब ३९ करोड छ ।

कोषले रु तीन खर्ब ४५ अर्ब ६९ करोड कूल स्रोत र रु तीन खर्ब ३८ अर्ब छ करोड बराबरको लगानी गरेको छ । कोष स्थापनाको ५८ औँ वर्ष प्रवेशको अवसरमा आज सार्वजनिक गरिएको विवरणअनुसार कोषले सञ्चित रकममा ८.२५ प्रतिशतले ब्याज प्रदान गरेको छ ।

कोषले सञ्चयकर्ता सापटीमा ५३, परियोजना कर्जामा १६, बैंकहरुको मुद्दती निक्षेपमा २३ र अन्य क्षेत्रमा आठ प्रतिशत लगानी गरेको छ । व्यक्तिगत विवरण (केवाइसी)मार्फत दुई लाख ५० हजार बढी सञ्चयकर्ताको विवरण अध्यावधिक गरिसकेको कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो ।

त्यस्तै निजामती किताबखाना, महालेखा नियन्त्रकको कार्यालय र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसँग भएका समझदारी सम्झौता कार्यान्वयन भइरहेका छन् । नेपाल क्लियरिङ हाउससँग सहकार्य गरी कोषबाट प्रवाह हुने सापटी र भुक्तानीलाई चेकरहित बनाइएको छ । हाल परीक्षणको रुपमा लागू गरिएको यस कार्यक्रमलाई चालू आर्थिक वर्षभित्र कोषका सबै कारोबारमा कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

सञ्चयकर्तासँगको सबै प्रकारका कारोवारको जानकारी एसएमएसमार्फत प्रदान गर्ने प्रक्रिया शुरु गरिएको जानकारी दिँदै गौतमले नयाँ नियुक्त हुने कर्मचारीलाई राष्ट्रिय किताबखानाबाटै कोषको परिचयपत्र नम्बर प्रदान गर्न थालिएको बताउनुभयो ।

कोषले २० वटा आयोजनामा आफ्नो शेयर लगानी गरेको छ । रु १२ अर्ब ५० करोड बराबरको सरकारी ऋणपत्रलाई दोस्रो बजारमार्फत बिक्री गरी सो रकमलाई लामो अवधिको मुद्दती निक्षेपमा लगानी गरिएको छ । यस निर्णयबाट कोषको प्रतिफलमा वार्षिक करीब रु ७५ करोड वृद्धि भएको छ ।

लगानीबाट प्राप्त कूल प्रतिफलमध्ये ९५ प्रतिशत बढी रकम ब्याज, मुनाफा र सामाजिक सुरक्षा सुविधाको रूपमा सञ्चयकर्तालाई नै प्रदान गरिएको छ । आव २०७४÷७५ मा भएको रु तीन अर्ब ९४ करोड खुद मुनाफामध्ये रु दुई अर्ब ७६ करोड सञ्चयकर्तालाई मुनाफाको रुपमा वितरण गरिएको छ । मुनाफामध्ये आधा रकम सञ्चयकर्ताको खातामा जम्मा गरिएको छ । आधा रकम वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीमा सञ्चयकर्ताको नाममा शेयर लगानी गर्ने प्रयोजनका लागि जम्मा गरिएको छ ।

आव २०७४÷७५, आव २०७५÷७६ मा २१ हजार सञ्चयकर्तालाई रु १९ करोड ९७ लाख सामाजिक सुरक्षा सुविधा वितरण गरेको छ । कोषको वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले कोषलाई प्राथमिक बजार र ऋणपत्र खरीदका लागि प्रयोग गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।
नागरिक लगानीकोषलाई दोस्रो बजारमा प्रवेश गराउने तयारी भइरहेको उल्लेख गर्र्दै उहाँले हाल धितोपत्र बजारमा सूचीकृत भएका अधिकांश कम्पनीको नाफा वृद्धि भएकाले नवप्रवेशी र दोस्रो बजारमा लगानी गरेर त्यसबाट नाफा कमाउँछु भन्नेको लागि यो समय उपयुक्त समय रहेको बताउनुभयो ।

पूँजी निर्माणको निम्ति कोषमा रहेको रु तीन खर्ब माथिको पूँजीलाई परिचालन गरियो भने त्यसले पूँजी निर्माणका साथै ठूला आयोजना अगाडि बढाउन सहज हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूँजी निर्माण पछि थप रोजगारीको अवसर सिर्जना हुन्छ भने सञ्चयकर्ता सुरक्षित हुन्छन् ।”

हाल सरकारी निकायको स्वामित्वमा रहेका विभिन्न कोषमा कूल गार्हस्थ्य उत्पादनको २० प्रतिशत जति रकम जम्मा भएको तथ्य पेश गर्दै अर्थमन्त्रीले त्यो रकमलाई विभिन्न क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले कोषजस्ता ठूला कोष मुद्रा बजारमा खेल्न नहुने भन्दै मुद्रा बजारमा खेलेर अस्थिरता निम्त्याउने भन्दा दीर्घकालीन योजनामा लगानी गर्न सुझाव दिनुभयो । उहाँले धितोपत्र बजारमा नयाँ लगानीकर्ताका निम्ति अहिले उपयुक्त समय भएको स्पष्ट पार्नुभयो । शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको उहाँको धारणा थियो ।

सरकारले पूँजी बजारको सुधारका निम्ति विभिन्न ऐन कानून ल्याएको, केहीलाई संशोधनको प्रक्रियामा लगेको र बजारमैत्री वातावरण निर्माण गरेको भन्दै अर्थमन्त्रीले लगानीका लागि उपयुक्त समय भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button