तपाईँ सुन्दै हुनुहुन्छः

७८ जना स्क्रव टाइफसका बिरामीको निदान

कञ्चनपुर-सुदूरपश्चिम प्रदेशमा पनि डेंगु र स्क्रव टाइफसका बिरामीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बिरामीको संख्या बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकार र यहाँका स्थानीय तहहरुले रोग नियन्त्रणका लागि औषधी छर्कने, सरसफाइ गर्ने र जनचेतनामूलक सन्देश दिने खालका अभियान थालेका छन् । आमसञ्चारमाध्यमबाट जनचेतनामूलक सन्देश प्रवाह गर्ने, विभिन्न टोल बस्तीहरुमा भेला गराएर तथा घरदैलो अभियानबाट पनि जनचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले दिनुभएको जानकारी अनुसार हालसम्म कैलालीमा २०, कञ्चनपुरमा ९, दार्चुलामा ९, डडेल्धुरामा ४, डोटीमा २, अछाममा २, बैतडीमा १ र बझाङमा १ जना गरी ४८ जनामा डेंगु रोग देखिएको छ । सुदूरपश्चिमको बाजुरा जिल्लामा भने हालसम्म डेंगुको संक्रमण नदेखिएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७६।०७७ मा डेंगु रोगका कारण हालसम्म सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा स्क्रव टाइफसका बिरामीहरुको संख्या ७८ पुगेको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार डडेल्धुरामा ३५, कैलालीमा २२, बैतडीमा ११, कञ्चनपुरमा ३, डोटीमा ३, दार्चुलामा २ र बझाङमा २ जना गरी ७८ जना स्क्रव टाइफसका बिरामीको निदान भएको छ । सुदूरपश्चिमको अछाम र बाजुरा जिल्लामा भने हालसम्म स्क्रव टाइफसको संक्रमण नदेखिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button