तपाईँ सुन्दै हुनुहुन्छः

भकारो सुधारले रासायनिक मल निरुत्साहित

सल्यान– रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले थालिएको भकारो सुधार कार्यक्रम प्रभावकारी देखिएको छ ।

विभिन्न सरकारी तथा गैर सरकारी निकायले गाईभैसी, बाख्रा लगाउत विभिन्न पशुको मलमुत्रलाई व्यवस्थित गर्न भकारो सुधार कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

रासायनिक मलकै तुलनामा पशु मलमुत्रले उब्जनी हुने र स्वस्थकर हुने भन्ने चेतना किसानमा आउन थालेपछि सो कार्यक्रमप्रति आकर्षण बढेको दार्मा गाउँपालिका वडा न ३ दुवाङका स्थानीय धनविर ओलीले बताए । ‘आफ्नो गोठ सुधार गरेपछि खेर गइरहेको गाईभैँसीको गोबर र गहुँतको प्रभावकारिता बढ्दो रहेछ,’ ओलीले भने ।

बालीमा लाग्ने किरा नियन्त्रण गर्ने र माटोको उर्बराशक्ति बढाउन भकारो सुधार निकै उपयोगी भएको अर्का किसान हिमा वलीले बताइन ।

गाईभैँसीको गोबर र पिसाबलाई सङ्कलन गरेर रासायनिक मलको सट्टामा प्रयोग गर्न थालेपछि उत्पादन बढनुको साथै बस्तुभाउमा लाग्ने विभिन्न रोगहरुकोसमेत कमी आएको उनको अनुभव छ । भकारोलाई घामबाट जोगाउन छाप्रोको व्यवस्था गरिएको र उनको भनाई छ ।

वातारणिय सरसफाइका दृष्टिले पनि भकारो सुधार निकै उपयोगी देखिएको टेक बहादुर खत्रीले बताए । उनले भने ‘सुरुका दिनमा त भकारो सुधार गरेर के फाइदा भनेर आलटाल गरियो तर मानिस र बस्तुभाउको स्वास्थ्यका हिसाबले निकै उपयोगी हुने थाहा पाएपछि गाउँका २२ घरले भकारो बनाएका छन् ।’

भकारो सुधार कार्यक्रम सल्यानमा निकै प्रभावकारी देखिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम सल्यानले जनाएको छ ।

कार्यक्रमले हालसम्म ३ सय ४६ घरमा भकारो सुधार कार्यक्रम सम्पन्न गरेको कार्यक्रमका सूचना अधिकारी जगदिश प्रसाद यादवले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button