तपाईँ सुन्दै हुनुहुन्छः

नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न

ललितपुर-नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ । नाष्टले गत बिहीबारबाट सो ग्राउण्ड स्टेशनको सहायतामा भूउपग्रहको जानकारी लिन शुरु गरेको हो ।

नाष्टको कार्यालयमा जडान गरिएको रेडियो उपकरण र सफ्टवयेरको सहायताबाट सो भूउपग्रहको तथ्याङ्क लिन शुरुआत गरिसकेको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिनुभयो ।

सो ग्राउण्ड स्टेशनले नाष्टलाई गत भदौ २७ गते नेपाली स्याट–१ पूर्वी नेपालको एक छेउ हुँदै पास गरेको जानकारी दिइसकेको छ । नाष्टले सो ग्राउण्ड स्टेशनको सहयोगमा नेपालको सिधा आकाशमा आएका जुनसुकै भूउपग्रह वा नेपालसँग नजिक भएर गएका भूउपग्रहको जानकारी लिन सक्ने भएको छ । आफ्नो कार्यालयमा चार वटा सफ्टवेयर जडान गरी ग्राउण्ड स्टेशनबाट जानकारी हासिल गरिरहेको नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिनुभयो ।

सो सफ्टवेयरको सहायताबाट नेपाली स्याट–१ कहाँ छ, कार्यालयमा जडान गरिएको एन्टिनाको अवस्था कता फर्केको छ सबै थाहा पाउन सकिने उहाँले बताउनुभयो । आज नेपाली स्याट–१ छ पटक नेपालको आकाशमा आउने भएको छ । पहिलो पटक बिहान ३ बजेर ७ मिनेट देखि ३ बजेर १२ मिनेट दोस्रो बिहान ४ बजेर ४२ मिनेटदेखि ४ बजेर ५१ मिनेट, तेस्रो बिहान ६ बजेर २१ देखि ६ बजेर २४ मिनेट चौथो साँझ ६ बजेर ९ देखि ६ बजेर २४ मिनेट पाँचाँै बेलुका ७ बजेर ४१ मिनेट देखि ७ बजेर ५० मिनेट र अन्तिम राति ९ बजेर १९ मिनेट देखि ९ बजेर २५ मिनेटसम्म भूउपग्रह आउने जानकारी आइतबार हासिल गरिसकेको नाष्ट स्रोतले जानकारी गरायो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button