तपाईँ सुन्दै हुनुहुन्छः

तिन नम्बर प्रदेशको पहिलो बालमैत्री नगर ‘भीमेश्वर’

 दोलखा– दोलखाको भीमेश्वर नगरपालिकालाई ३ नम्बर प्रदेश कै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ ।

३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भीमेश्वर नगरपालिकालाई बालमैत्री नगरपालिका भएको घोषणा गर्नु भएको थियो भने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले नगरप्रमुख भरतबहादुर केसीलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

बाल मैत्री स्थानिय तहको लागि आवश्यक बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपुर्ण बाल सहभागिता जस्ता आधारभूत विषयसंगै ३९ वटा सूचक पुरा गरेपछि भीमेश्वर नगरपालिकालाई ३ नम्बर प्रदेशको पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको नगरप्रमुख केसीले बताउनुभयो । भीमेश्वर नगरपालिकाले बालबालिकाको जन्म तथा मृत्यु दर्ता, खोपको सबै चरणको सुनिश्चितता, बिद्यालयमा छात्रा शौचालयको अलग ब्यवस्था, आधारभूत तहको शिक्षामा सबैको सहभागिता, स्थानीय निकायको निर्णय प्रकृयामा बालबालिकाको सहभागिता लगायतका ३९ वटा सूचक पूरा गरेको नगरप्रमुख केसीको भनाई छ ।

नगरप्रमुख केसीले व्यवहारिक रुपमा सूचकहरुको पालना र कार्यान्वयनमा नगरपालिका प्रतिवद्ध रहेको उल्लेख गर्नुहुदै त्यसको लागि सम्पूर्ण नगरबासिले सहयोग गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशलाई बालमैत्री प्रदेश बनाउने अभियानको क्रममा भीमेश्वर नगरपालिकाले प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बनेर अभियानमा सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले बाल विकास र संरक्षण सरकारको प्रमुख दायित्व रहेको उल्लेख गर्नुहुदँै त्यसमा स्थानिय जनप्रतिनिधिहरुको सहयोग र भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सरकारले २०६८ सालमा बालमैत्री स्थानिय शासन रणनीति बनाएको थियो भने त्यसै बर्ष बालमैत्री स्थानिय शासन कार्यविधि २०६८ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको थियो । भीमेश्वर नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएपछि नेपालमा बालमैत्री नगरपालिका घोषणा भएको संख्या चार पुगेको छ ।

नगरप्रमुख भरतबहादुर केसीको सभापतित्वमा सम्पन्न बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा ३ नम्बर प्रदेशका सांसद एवं नेकपाका नेता पशुपति चौलागाई, नेकपाका नेता एवं पूर्व राज्यमन्त्री देवी खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, गाँउपालिका महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष एवं दोलखा तामाकोसी गाँउपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, नेकपा दोलखाका सचिव गोपाल पाण्डे, नेपाली कांग्रेस दोलखाका नेता केशवराज चौलागाई, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, पूर्व नगरप्रमुख चोकबहादुर दहाल, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button