२०७९ साल जेठ ८ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

पुराना प्रविधिका साधन लोप हुने अवस्थामा

रेडियो नेपाल २०७६ भदौ २९ गते १५:०५

काठमाडौं । परम्परागत प्रविधिका साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । बढ्दो आधुनिकताको प्रभावले पुराना सीप र दिमागको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका साधन सङ्कटमा परेका हुन् । मानिसको दैनिक जीवनयापन गर्नका लागि बनाइएका पुराना साधनको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको हो ।

रैथाने सीप र प्रविधिको प्रयोग गरी वर्षौँ पहिलेदेखि बनाइएका सामान लोप हुने अवस्थामा छन् । म्याग्दीका ग्रामीण भेगहरुमा अन्न पिसानी गरिँदै आएको पानीघट्ट लोप हुँदै जान थालेपछि यसको संरक्षणका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

हिमाली जिल्ला म्याग्दीमा पछिल्लो सयम गाउँ–गाउँसम्म नै बिजुली बल्न थालेपछि कुटानी पिसानीका लागि विद्युतीय मिल सञ्चालनमा आएपछि पानीघट्टको माग कम हुँदै गएको छ । पानीघट्टमा पिँधेको पीठोबाट बनेका रोटी, ढिँडोलगायतका परिकार स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिकोणले पनि बहुउपयोगी हुने स्थानीय बासिन्दा बताउँछन् । त्यसका साथै एक दशकअघिसम्म परम्परागत ग्रामीण जीवनको अभिन्न अङ्गजस्तै बनेको पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नुपर्ने आवश्यकता छ ।

पानीघट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर भए पनि यस्ता रैथाने सीपको संरक्षण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । पुराना सीप र प्रविधिका साधनहरु पानीघट्ट, ढिकी, जाँतो, कोलजस्ता साधनको संरक्षण र प्रचारप्रसार गर्नका लागि सरकारी निकायबाट आवश्यक सहयोग गर्नुपर्ने बेनी नगरपालिका–५ चिप्लेटीका चुँधारा श्रीकृष्णलाल विश्वकर्माले बताउनुभयो ।

पुरानो प्रविधि र सीपसँग जोडिएको साधनलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जर्गेनाका लागि स्थानीय सरकार पनि चनाखो हुनुपर्ने बताइएको छ । म्याग्दीको पश्चिमी क्षेत्रका गुर्जा, रुम, ओखरबोट, मराङलगायतका गाउँमा फाट्टफुट्ट रूपमा पानीघट्ट चल्ने गरेका छन् । पानीघट्टका साथै परम्परागत सीप र प्रविधिका ढिकी, जाँतो, कोलजस्ता पुराना प्रविधि हराउँदै जाँदा संरक्षणको अभावसमेत देखिएको छ । पुराना सीप तथा प्रविधिका साधनको संरक्षणका लागि नगरपालिकामार्फत आवश्यक पहल गरिने बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको भनाइ छ । पुराना पुस्ताको सीप, मेहेनत र परिश्रम नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा परम्परागत कुटानी पिसानीका साधनको अस्तित्व नै सङ्कटमा परेको उहाँले बताउनुभयो ।

बेनी लभ्लीहिल जोड्ने पदमार्ग निर्माण

म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्गको निर्माणकार्य सकिएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तव्यको रूपका विकसित भइरहेको बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।

म्याग्दी नदीमाथि रहेको बेलिब्रिज नजिकबाट लभ्लीहिलसम्म पुग्ने पदमार्ग निर्माणमा बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि लभ्लीहिलसम्म पुग्नका लागि मोना–बेनी–लभ्लीहिल पदमार्ग नामाकरण गरिएको पदमार्गको गत २०७५ भदौ ८ गते शिलान्यास गरिएको थियो । बेनी–बगरफाँट सडक नजिकबाट शुरू गरिएको पदमार्गको ढलानसहित आवश्यक संरचना बनाइएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

उहाँका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई चिनाउने अभियानलाई पदमार्ग निर्माणमा बेनपाले ५० प्रतिशत, मोना आइइसीले ४० र म्याग्दी उवासङ्घले १० प्रतिशत रकम व्योहोर्ने त्रिपक्षीय सहमति भएको थियो । तीन सय ९५ मिटर उकालोमा १.८ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलिङसहितको पदमार्ग निर्माण गर्न मोनाले करीब रु ३२ लाख आर्थिक सहयोग गर्नेछ । पदमार्गको प्रारम्भिक चरणमा रु ५७ लाख आठ हजार ९०६ लागत अनुमान गरिए पनि रु ७९ लाखमा पदमार्ग निर्माण भएको हो ।

पदमार्गसँगै नगरपालिकाले लभ्लीहिलमा युद्ध स्मारिका उद्यानसहित डिभिजन वन कार्यालयले समेत वन वाटिका बनाइएको बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । सामुदायिक वन उपभोक्ता समितिलाई समेत आम्दानी हुने गरी फलफूलका विरुवाका साथै ठाँउ–ठाँउमा आवश्यकताअनुसार सानो बगँैचा र विश्रामस्थलसमेत बनाइएको छ ।

बेनीको शिरमा अवस्थित लभ्लीहिलमा नगरपालिकासहित विभिन्न सङ्घसंस्थामार्फत आरामदायी बेन्च, गोलघर (भ्यू प्वाइन्ट) र चौतारीलगायतका संरचना बनेका छन् । बेनीदेखि आधा घण्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम, उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ । -रासस

सम्बन्धित