तपाईँ सुन्दै हुनुहुन्छः

छ बर्षपछि पुग्यो मनाङमा जहाज

पोखरा – हिमालपारीको जिल्ला मनाङको हुम्डे विमान स्थलमा छ बर्ष पछि जहाज पुगेको छ । शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ लगायत १५ यात्रु पोखरा विमानस्थलबाट लिएर समिट एयरको जहाज हुम्डे पुगेको हो ।

गण्डकी प्रदेश सरकारको समन्वयमा समिट एयरले पहिलो उडान भरेको नागरिक उड्यन प्राधिकरण पोखरा शाखा प्रमुख भोला गुरागाईले जानकारी दिनुभयो ।

५ वर्षअघि ६ सय मिटरको कच्ची विमानस्थल ९ सय मिटर लम्बाइ र २० मिटर चौडाइमा पिच गरी विस्तार गरिएको भएपनि बर्षौ सम्म उडान हुन सकेको थिएन । त्यसअघि ट्विनअटर विमानले मात्रै उडान भर्दै आएको थियो ।

सन् २०१४ सेप्टेम्बरमा जर्मनीमा निर्मित तारा एयरको डोर्नियर डो–२२८ एयरक्राफ्टले सफल परीक्षण उडान गरेको थियो । तर नियमित उडान भर्न सकेन । उक्त विमानस्थल समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा छ ।

विसं २०३९ असोजबाट निगमले पोखरा–मनाङ–पोखरा उडान भर्न सुरु गरेको थियो । नियमति विमानस्थल सञ्चालनमा आए विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको उपस्थिति बढ्ने अनुमान गरिएको छ ।

विमानस्थलमा अवतरणपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । आन्तरिक पर्यटक, कर्मचारी र जनप्रतिनिधिमात्रै आए पनि जहाज उडान नियमित हुने बताउदै उडान नियमित गराउन सुरुका दिनमा प्रदेश सरकारले अनुदानसमेत दिन तयार रहेको बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नियमित उडानकालागि शुक्रबार परीक्षण गरिएको बताउदै अन्तराष्ट्रिय पर्यटन दिवसको दिन असोज १० बाट नियमित उडानको तयारी गरिएको जानकारी दिदै हवाई उडानसँगै पर्यटनसँगको सहकार्यमा मनै छुने मनाङ प्याकेज पनि बनाउन लागिएको बताउनुभयो ।

पोखराबाट देशका सातै प्रदेशमा नियमित उडानका लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल अगाडी बढाईएको मन्त्री लम्साले बताउनुभयो । विस्तृत अध्ययन गरेर सबै प्रदेशका मुख्य सहरमा पोखराको सिधा हवाई सम्पर्क स्थापित गराउन उद्योग,पर्यटन,वन तथा वाताववरण मन्त्रालयले काम गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button