तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाई मन्दिर विकास समितिको निर्वाचनको मतदान सम्पन्न

बीरगंज– बलिका लागि विश्वप्रसिद्ध बाराको गढीमाई मन्दिरको सञ्चालन तथा विकास समितिको नेतृत्व चयनका लागि आज मतदान सम्पन्न भएको छ ।

राजनीतिक निर्वाचनको झल्को दिने गरी मन्दिर सञ्चालन गर्ने बोर्डको नेतृत्व छान्न मतदान भएको हो । बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । निर्वाचनमा आठ हजार तीन सय मतदाता रहेकोमा साँझ ५ बजे सम्म ७ हजार ८६ भोट खसेको थियो । कुल मतदाता संख्याको ८५ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश केशरीले बताउनुभयो ।

नेतृत्व चयनको चुनावमा राजनीतिक दलहरुको छुट्टाछुट्टै प्यानल खडा भएका छन् । दलका उम्मेदवार महिनौ दिनदेखि घरदैलो र चुनावी प्रचारमा व्यस्त भएका थिए ।

निर्वाचनबाट विजयी हुनेले आगामी मंसीरमा हुने गढीमाई मेला सञ्चालन गर्ने जनाईएको छ । दक्षिण एशियामा नै बलिका लागि प्रसिद्ध मेलामा लाखौं भक्तजनको उपस्थिति रहने गर्दछ । चुनावमा अध्यक्षका लागि चार जना बिच तिव्र प्रतिस्पर्धा रहेको छ ।

नेकपा, कांग्रेस र फोरम–राजपाबाट छुटाछुटै प्यानल तयार भई निर्वाचनमा उत्रिएका छन् । नेकपाबाट अध्यक्ष पदमा दुईजना उम्मेदवार उत्रिएका छन् ।

नेकपाले जितेन्द्रप्रसाद गुप्तालाई अध्यक्ष बनाउने निर्णय गरेपनि असन्तुष्ट केही नेताले महानन्दप्रसाद यादवलाई उम्मेदवार बनाएपछि दुवै उम्मेदवार छुटाछुट्टै प्यानलबाट चुनावमा सहभागी भएका थिए । नेपाली कांग्रेसले मोतीलाल प्रसादको नेतत्वमा प्यानल बनाएको छ । मधेसवादी दल फोरम र राजपाको संयुक्त प्यानलबाट रामचन्द्र साह तेली अध्यक्षमा उभिएका छन् ।

चुनावका लागि अध्यक्ष र उपाध्यक्षमा चार÷चार, सचिव र सहसचिवमा तीन÷तीन जनाको उम्मेदवारी परेको छ भने चार सदस्यको लागि १८ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश केशरीले जानकारी दिनुभयो ।

निर्वाचन सम्पन्न भएसँगै मतगणना भने सर्वदलिय सहमति जुटाएर शुरु गरिने प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश केशरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button