तपाईँ सुन्दै हुनुहुन्छः

मध्यतराईका श्रोतहरुलाई लक्षित गर्दै जितपुर रिले स्टेशनबाट रेडियो नेपालको परीक्षण प्रसारण शुरु

बीरगंज – आधुनिक नेपालको समावेशी आवाजको रुपमा रहेको रेडियो नेपालको क्षमता बृद्वि गर्ने अभियान अन्तरगत आजबाट बाराको जितपुरमा एफ.एम. रिले स्टेशन स्थापना गरी परिक्षण प्रशारण प्रारम्भ भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको रेडियो नेपालको आफ्नै स्वामित्वको भवनबाट एफ.एम.को १०३ मेगाहर्जबाट वीरगंजसँगै वारा, पर्सा र रौतहटका श्रोताहरुलाई लक्षित गर्दै आजबाट परिक्षण प्रसारण शुरु गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले बताउनुभयो ।

हजार वाट क्षमताको एफ.एम. ट्रान्समिटर मार्फत प्रदेश नम्बर २ को प्रमुख आर्थिक केन्द्र बीरगंजको साथै जितपुर सिमरा, ठोरी, सिम्रौनगढ, कलैया, गौर, निजगढ, चन्द्रनिगाहपुर लगायतका क्षेत्रमा रेडियो नेपालको प्रसारण स्पष्टसँग श्रोतहरुले सुन्न सक्ने अपेक्षाका साथ एफ.एम.रिले स्टेशन स्थापना गरी परिक्षण प्रसारण प्रारम्भ गरिएको कार्यकारी निर्देशक कार्कीले बताउनुभयो ।

जितपुरमा रहेको रेडियो नेपालको यस रिले स्टेशनबाट केन्द्रिय प्रसारणका साथमा अपरान्ह ३ः०० बजेदेखि साँझ ६ः०० बजेसम्मको प्रदेश नम्बर २ को प्रादेशिक प्रसारणलाई समेत श्रोत माँझ पुर्याईने रेडियो नेपाल प्रदेश नम्बर २ प्रादेशिक प्रसारणका प्रमुख राम पुकार रामले जानकारी दिनुभयो ।

प्रादेशिक प्रसारण अन्तरगत भोजपुरी, मैथली र मगही भाषामा समाचार तथा कार्यक्रमहरु प्रसारण गरिने समेत रेडियो नेपाल प्रदेश नम्बर २ प्रादेशिक प्रसारणका प्रमुख राम पुकार रामले बताउनुभयो ।

विगत लामो समय देखि रेडियो नेपालको प्रसारण मध्यतराईको प्रमुख केन्द्र वीरगंज लगायत वारा, पर्सामा स्पष्टसँग सुन्न नसकेको अवस्थामा रेडियो नेपालले जितपुरमा १ हजार वाट क्षमताको एफ.एम. रिले स्टेशन स्थापना गरी परिक्षण प्रसारण गरेपछि अहिले रेडियो नेपाल स्पष्ट सँग सुनिएको वीरगंज महानगरपालिका वडानम्बर १२ आदर्शनगर निवासी हरेन्द्र साहले बताउनुभयो ।

रेडियो नेपालको आफू पुरानो श्रोता भएको र रेडियो नेपालले सहि तथ्य र आधिकारिक समाचार तथा स्तरीय कार्यक्रम प्रसारण गर्ने हुँदा एफ.एम. रेडियोको बाढीमा समेत आफूले रेडियो नेपालको प्रसारण खोजी खोजी विभिन्न माध्यमबाट सुन्दै आएको र अहिले स्पष्ट सँग सुनिएपछि आफू खुशी भएको वीरगंज ४ विर्ता निवासी ८१ बर्षिय रामजी थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button