तपाईँ सुन्दै हुनुहुन्छः

विर्तामोड नगरपालिकाद्वारा ३४ परिवारलाई घर हस्तान्तरण

बिर्तामोड बिर्तामोड नगरपालिकाले ३४ विपन्न परिवारलाई घर हस्तान्तरण गरेको छ । बिर्तामोड–७ मा रहेको मुन्सीबस्ती र मुसहरबस्तीका विपन्न परिवारलाई नगरपालिकाले घर निर्माण गरी आज हस्तान्तरण गरेको हो ।

नगरपालिकाको ७५ हजार, सहारा नेपालले २५ हजार र ह्याविट्याट फर ह्यूमानिटीको ५० हजार लगानीमा सामुदायिक आवास गृह निर्माण गरिएको थियो । सामान्य झुप्रो घरमा जीवनयापन गरिरहेका परिवारलाई पक्का पिलरसहितको टिनको छानो भएको घर उपलब्ध गराइएको छ ।

दैनिक जनमजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई नगरपालिकाको अगुवाईमा निर्माण गरिएको घर औपचारिक कार्यक्रमको आयोजना गरी प्रदेश सांसद् एकराज कार्की, बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटी र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ ।

संविधानले नागरिकको आवास अधिकारलाई मौकिल हकको रुपमा व्यवस्था गरेकाले नगरपालिकाले घर निर्माण गरिदिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिनुभयो ।

सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले स्थानीय सरकारसँगको सहकार्यमा विपन्न नागरिकको आवास निर्माण गर्न संस्था सधैं तयार रहेको बताउनु भयो । उशाँले झापाको ८ स्थानीय तहमा २५४ वटा घर निर्माण गरेको जानकारी दिनुभयो ।

वर्षांदेखि झुपडीमा बस्दै आउनु भएका ८६ वर्षीय मुन्सी मुर्मु पक्की घर पाएपछि खुशी देखिनुहुन्छ । उहाँले पक्की घरमा बस्नपाउने सपनामा पनि नदेखेको भन्दै नगरपालिकाप्रति आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button