तपाईँ सुन्दै हुनुहुन्छः

अर्बुद्ध रोगपीडितलाई सहयोग

दमौली-वैदेशिक रोजगारीमा कतार पुगेका तनहुँवासीको संस्था रिसिङ प्रवासी युवा समाज दोहा कतारले अर्बुद्ध रोगबाट पीडित व्यास नगरपालिका–१ भादगाउँ निवासी दिलप्रसाद आलेलाई रु एक लाख ६०० आर्थिक सहयोग गरेको छ । लामो समयदेखि अर्बुद्ध रोगबाट पीडित भई उपचार गराइरहनुभएका आलेलाई सहयोग गर्न समाजले कतारमा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो ।

सोही अभियानबाट सङ्कलित उक्त रकम समाजका अध्यक्ष टीकाराम आलेमार्फत संस्थापक अध्यक्ष कविराज श्रेष्ठले पीडित आलेलाई हस्तान्तरण गर्नुभएको छ । सामाजिक काम गर्ने उद्देश्यसहित गठन भएको संस्थामार्फत जिल्लावासीलाई सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष आलेको भनाइ छ ।

यसैगरी भीमाद नगरपालिका–९ मोहोरिया निवासी अर्बुद्ध रोगपीडित विष्णुमाया थापाको उपचारार्थ सहयोग गर्ने उद्देश्यले कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारीको क्रममा कतारमा कार्यरत भीमाद नगरपालिका–९ सखेपका कमल गुरुङ, पाथर्दीका अर्जुन थापा, गणेशपुरका श्रीराम शाही, लोकेन्द्र शाहीलगायतको पहलमा त्यहाँका नेपालीबाट सङ्कलित रु ४६ हजार पीडितलाई प्रदान गरिएको छ । उक्त रकम भीमाद नगरपालिका–९ का कार्यवाहक अध्यक्ष बाबुराम रानाको रोहवरमा पीडितका श्रीमान् झमकलाल थापालाई प्रदान गरिएको छ ।

मानहुँकोटमा सरसफाइ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको व्यास नगरपालिका–५ मानहुँकोटमा सरसफाइ गरिएको छ । पर्यटकको आगमन बढ्न थालेसँगै फोहर पनि बढेपछि मिस क्विनका प्रतिस्पर्धीले मानहुँकोटमा सरसफाइ गरेका हुन् । व्यास नगरपालिका–५ को समन्वयमा गरिएको सरसफाइ कार्यक्रममा मिस क्विनका १५ भन्दा बढी प्रतिस्पर्धी सहभागी रहेको आयोजक संस्थाकी सरिता गरन्जा मगरले जानकारी दिनुभयो । सहभागीले मानहुँकोटमा यत्रतत्र फालिएका बोत्तल, प्लाष्टिकलगायत सङ्कलन गरेका थिए ।

मगरका अनुसार सरसफाइबाट १० बोरा फोहर सङ्कलन भएको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको मानहुँमा सरसफाइको पाटोलाई विशेष ध्यान दिइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button