तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा दुई हजार बढि मेट्रिकटन खाद्यन्न अपुग

जुम्ला-कर्णाली प्रदेशको जुम्लामा हाल दुई हजार ७६ मेट्रिक टन खाद्यान्न अपुग छ । यहाँको कुल जनसंख्या र खाद्यन्न उत्पादनको अनुपातलाई हेर्दा करिब दुई हजार ७६ मेट्रिक टन खाद्यन्न अपुग हुने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को प्रक्षेपित जनसंख्या अनुसार एक लाख १६ हजार ६१ रहेकोमा प्रतिव्यक्ति प्रतिवर्ष एक सय ९१ किलोग्राम आवश्यक पर्ने दरले २८ हजार नौ सय ५३ मेट्रिक टन खाद्यान्नको आवश्यकता हो । तर यस चालु आर्थिक वर्षमा ‘अहिले जुम्लामा २६ हजार आठ सय ७७ मेट्रिक टन खाद्यान्न मात्रै उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनु भयो ।

जसमा धान दुई हजार नौ सय ५० हेक्टर क्षेत्रफलमा ६ हजार ९० मेट्रिन टन, मकै चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा ६ हजार सात सय ५० मेट्रिक टन, गहुँ दुई हजार तीन सय ५० हेक्टर क्षेत्रफलमा चार हजार पाँच सय मेट्रिक टन, कोदो तीन हजार सात सय हेक्टर क्षेत्रफलमा तीन हजार नौ सय मेट्रिक टन, जौ तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा पाँच हजार पाँच सय ५० मेट्रिक टन, फापर ९० हेक्टरमा ८७ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय प्रमुख देवकोटाले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

जिल्लामा अपुग दुई हजार ७६ मेट्रिक टन खाद्यन्न जिल्ला बाहिरबाट आयात हुने र खाद्य संस्थानबाट पुर्ति हुने कार्यालय प्रमुख देवकोटाले बताउनु भयो । जुम्लाको दुई लाख ५३ हजार एक सय हेक्टर कुल क्षेत्रफलमध्ये ३९ हजार चार सय ४६ हेक्टर मात्र खेतीयोग्य जमिन छ । २६ हजार चार सय ३५ हेक्टर सिँचाइयोग्य जमिनमध्ये तीन हजार दुई सय ६९ हेक्टर मात्र जमिन सिँचित हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button