तपाईँ सुन्दै हुनुहुन्छः

वर्षायाममा पनि खानेपानीको अभाव कायमै खोलाको पानी खान बाध्य

 

बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिकाअन्र्तगत पर्ने अम्लेखगञ्ज क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव सिर्जना भएको छ । खाने पानीका लागि स्थानीय पुराना धारा, नदी, प्राचीन ढुङ्गेधारा तथा खोलाको पानी खान बाध्य भएका छन् । यसको प्रभाव अति व्यस्त पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीगञ्ज राजमार्गको आसपासमा रहेका होटलमा समेत परेको छ ।

लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा स्थानीय तथा केन्द्र सरकार बेखबर रहेको स्थानीयको भनाइ छ । स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरु मारमा परेको स्थानीय कृष्णबहादुर विकले बताउनुभयो ।

शुद्ध खानेपानीको अभाव झेलिरहेका यस क्षेत्रका स्थानीय अहिले खोला तथा कुवाको पानी खाँदा बिरामी पर्न थालेका छन् । पिउने पानीको अभाव भएको छ । खाना बनाउने खाने तथा सरसफाइ गर्ने र पशु चौपायालाई पनि त्यही पानी खुवाउने गरिएको छ । पानी फोहर भएका कारण स्वास्थ्य समस्या देखा पर्न थालेको स्थानीय मायादेवी लामाले बताउनुभयो ।

सो क्षेत्रमा खानेपानीको अभाव रहेको जानकारी भएको र त्यसको व्यवस्थापनमा निरन्तर लागि परेको उपमहानगरपालिका–२१ का वडाध्यक्ष कृष्णबहादुर ठकुरीले बताउनुभयो । उपमहानगरपालिकाले पनि सो क्षेत्रको खानेपानी समस्या समाधानका लागि काम शुरु गरिसकेको उहाँको भनाइ छ ।

चुरे पहाडको फेदीमा खानेपानी अभाव भन्ने सुन्दा अचम्म लागे पनि सो क्षेत्रमा खानेपानी समस्या पुरानै रहेको वडा नम्बर २२ का अध्यक्ष मानिकलाल थिङले बताउनुभयो । विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी समस्या समाधानमा आफूहरु लागि परेको थिङको भनाइ छ । सो क्षेत्रको खानेपानी समस्या समाधानका लागि नयाँबिजौरीको ४ नम्बर पुल छेउ र १ नम्बर पुल छेउको मुहानको प्रयोग गर्ने तयारी भइरहेको बताइएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button