तपाईँ सुन्दै हुनुहुन्छः

२८ बर्षपछी नयाँपाटी मदनपोखरा सडक कालोपत्रे, स्थानिय हर्षित

भाद्र – ट्रयाक खुलेको २८ बर्षपछी नयाँपाटी मदनपोखरा मोटरबाटो कालोपत्रे भएपछी स्थानिय खुसी भएका छन् ।

२०२८ सालमा कुटो, कोदालो, गैंटी र बेल्चाको प्रयोगले खोलिएको नयाँपाटी मदनपोखरा ट्रयाक २०७६ सालमा आईपुग्दा आधुनिक मेसिनहरु डोजर, रोलर प्रयोग गरि पिच भएपछी नागरिकहरु खुसी भएका छन् । दशैंको मुखमै आउँदा जिल्ला बाहिर पढ्ने, जागिर गर्ने र व्यापार व्यवसाय गर्नेहरु कालोपत्रे भएपछी घर फर्कँदा सरर गुड्ने समयको प्रतिक्षा गरिरहेका छन् । बर्षौ देखि बर्खामा हिलो र हिउदमा धुलोबाट ग्रसित र आजित बनेका स्थानीयहरुमा बाटो कालोपत्रे भएपछी थप उत्साह जागेको छ ।

तानसेन ८ का वडाध्यक्ष राम प्रसाद घिमिरेले २०२८ सालमा ३ लाख रुपैंया बजेटबाट जनताले आफै खनेर ट्रयाक खोलिएको बताउनुभयो । “दिनको १५ रुपैंया ज्याला लिएर यो बाटो खोलिएको हो । सुरुमा त बाटो निकै साँघुरो थियो, दुई जना संगै छाता ओढेर हिँड्न पनी मिल्दैनथ्यो ।” वडाध्यक्ष घिमिरेले भन्नुभयो “गाईगोरु चराउन जाँदा भिरबाट लडेर मरेको घटना हिँजो जस्तै लाग्छ । आज आएर यती फराकिलो र चिल्लो बाटो बन्यो । सुकिलो बाटोमा हिँड्ने यहाँका जनताको सपना आज पुरा भयो ।”

पिच भएपछी कृषी सामग्रीको मुख्य उपादनको केन्द्र मदनपोखरा बाट तरकारी, फलफुल लगाएतका कृषी उपज निर्यात गर्न थप सहज भएको छ । मोटरबाटो ४ देखी ६ मिटर सम्म फराकिलो रहेको छ । कच्ची सडक हुँदा ठाउँठाउँमा बिग्रिरहने, कृषी उपज बोकेर नयाँपाटी सम्म लैजानु पर्ने समस्या बेलाबेलामा नागरिकहरुले भोग्दै आएका थिए । विद्यार्थीहरु हिड्ने र कृषी उपज ओसारपसार गर्ने सडक खाल्डा खुल्डीका साथै अव्यवस्थित हुदा यात्रा गर्न समस्या हुनुका साथै अस्पताल र एम्बुलेन्स तथा निजि सवारी साधन चलाउन समेत समस्या हुने गरेको स्थानियको गुनासो थियो ।

‘सडककै कारण थुप्रै मानिस गाउँ छोडेर बजार झरे’ तानसेन ८ का यादवनाथ भट्टराईले भन्नुभयो ‘अब सडक निर्माण भएपछि यहाँबाट बसाईसरेका पुनः गाउँमै फर्किने वातावरण बन्नेछ ।’ सडक यातायात आर्थिक विकासको मेरुदण्ड भएकोले अब कुनै पनि स्थानीय उत्पादन गाउँमै खेर जाने समस्या नरहने उहाँले बताउनुभयो ।

ट्रयाक खुलेपछीको सडक मनमोहन अधिकारी अर्थमन्त्री हुँदा लागु भएको आफ्नो गाउँ आफै बनाउँ कार्यक्रमले स्तरोन्नती गर्दै सबै नागरिकहरुको सहयोगमा यो अवस्था सम्म ल्याईपुर्याएको नेकपाका नेता एक प्रसाद भण्डारीको भनाई छ । आफुहरुले प्रयोग गर्ने बाटोमा ठेकेदारले गुणस्तर कायम गरेको छ छैन भनेर दैनिक रुपमा आफुहरुले हेरिरहेको र स्थानीयले नहेरि बाटो गुणस्तर नहुने भएकाले सबै क्षेत्रका स्थानीय चनाखो बनेर अगाडी बढ्नु पर्ने सडक उपभोक्ता गोपाल अर्यालले बताउनुभयो ।

बाटोमा कसरि काम अगाडी बढिरहेको छ । गुणस्तर कायम भएको छ छैन भनेर स्थानीयहरुले दैनिक रुपमा अनुगमन गरिरहेका छन् । पिच भईरहेको बेला गाडिहरुको आवतजावतमा रोक लगाउने काममा यूवाहरु खटिएका छन् । जिल्ला समन्वय समिति, नगरपालिका र जिल्ला प्राविधिक कार्यलयबाट संयुक्त रुपमा अनुगमन भैरहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button