तपाईँ सुन्दै हुनुहुन्छः

हिन्दूले पनि मनाउँदै सद्भावको पर्व मोहर्रम

बाँके । मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरेर मोहर्रम पर्वको बिदाइ गरिँदैछ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा रु एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरेर मनाउने गर्छन् ।

बाँकेमा भने मोहर्रममा केही फरक दृश्य देख्न पाइन्छ । मुस्लिम समुदायको यस पर्वमा हिन्दूहरु पनि सहभागी हुन्छन् । “हिन्दू समुदायमा पनि ताजिया राख्ने चलनको सुरुआत हुन थालेको छ”, शान्ति सद्भाव समिति बाँकेका सल्लाहकार कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, “यहाँ एउटा समुदायको पर्वमा अर्को समुदायको बलियो आस्था रहने गरेको छ ।”

नेपालगञ्ज उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका श्रेष्ठले नेपालगञ्ज सद्भावको शहर भएकै कारण यहाँ सबै समुदायको चाडपर्वमा सबैको उत्तिकै आस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालगञ्ज हिन्दू, मुस्लिम, शिख, इसाइलगायतका समुदाय एक अर्काका धर्म, संस्कृति र परम्परासँग जोडिन्छन्, सबैको आस्था सबै धर्मसँग जोडिएको शहर नेपालगञ्ज नै हो ।”

आज मुस्लिम समुदायहरुले बाजागाजासहित नेपालगञ्जलगायतका विभिन्न स्थानस्थित कर्बलामा ताजिया विसर्जनका लागि तयारी गरिरहेका छन् । यसमा हिन्दू समुदायका व्यक्तिहरुको उत्तिकै साथ रहेको छ । मोहर्रमको विशेष दिन भएकाले व्रत बस्ने, गरीबगुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन छ । आज हिन्दू र मुस्लिम समुदायका व्यक्तिहरुले शुभकामनासमेत आदाप्रदान गरिरहेका छन् ।

शान्ति सद्भाव समिति बाँकेका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज नेपालकै मिश्रित समुदायको बसोबास रहेको शहर भएकै कारण यहाँ सबै धर्मप्रति सबैको आस्था र सम्मान कायम रहेको बताउनुभयो । “एउटा धर्मको व्यक्तिले अर्को धर्मप्रति आस्था राख्नु एकअर्काप्रतिको उच्च सम्मान र आदर हो । यो नेपालगञ्जमा सदियौँदेखि चलिरहेको छ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहनुभएका वैश्यले भन्नुभयो ।

मुस्लिम समुदायका अगुवा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले आज बिहानैदेखि ताजिया विसर्जनको तयारी भइरहेको बताउनुभयो । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्षसमेत रहनुभएको चुन्नाले भन्नुभयो, “आज बिहानैदेखि हिन्दू समुदायका साथीहरुले फोन, एसएमएसमार्फत शुभकामना दिइरहनुभएको छ । यसले नेपालगञ्जमा रहेको धार्मिक एकता र सन्देशलाई प्रवाह गरिरहेको छ । यहाँ सबै धर्म र समुदायका चाडपर्वमा सबैको बलियो आस्था रहन्छ ।”

इस्लामिक नयाँ वर्ष ‘हिजरी संवत् १४४० को १०औँ तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी संवत्को पहिलो महीना हो । हिजरी संवत्को ५ तारिखदेखि शुरु हुने मोहर्रमको १०औँ दिन आज विशेष महत्वको हुने गर्दछ । मोहर्रममा आलम राख्ने र विशेषगरी ताजिया राख्ने गरिन्छ । इराकको कर्वला शहरमा पैगम्बर मोहम्मदका नातिसहित परिवारका सदस्य र अन्य शहीद भएको सम्झनामा मोहर्रम मनाउने प्रचलन छ ।

नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले आ–आफ्नो घर अगाडि ताजिया राखेर रातभरि जागरण बसेर ताजियादारी गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ । ताजिया विसर्जन भएको दुई दिनपछि हुने विशेष फातियामा गरीब तथा विपन्न समुदायका व्यक्तिलाई खाना पकाएर खुवाउने प्रचलन रहेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button