तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी यू–१९ एसिया कप:युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा हुने युएईविरुद्धको खेलमा नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । युएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो ।

युएईविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य सान्त्वना जित निकाल्नु हुनेछ । नेपाल एक जितसहित घर फर्कन चाहन्छ । त्यसका लागि नेपाल तुलनात्मक कमजोर टिम युएईलाई शिकार बनाउने योजनामा हुनेछ ।

तर, युएईविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । युएई पनि सान्त्वना जित निकाल्दै घर फर्कन चाहन्छ ।

समूह ‘बी’ मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।  दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो ।

यस समूहबाट आयोजक श्रीलंका र बंगलादेश सेमिफाइनल पुगिसकेको छ । समूह विजेताको तय भने मंगलबार नै हुने दुईबीचको खेलबाट हुनेछ । जित निकाल्ने टिम समूह विजेता बन्नेछ ।

पछिल्लो पाँच खेलको नतिजा हेर्दा नेपालले युएईलाई हराउने अनुमान गरिएको छ । पछिल्लो पाँच भेटमा नेपालले ४ खेल जितेको छ ।

तर, यसै वर्ष भएको यू-१९ विश्वकप छनोटमा नेपाललाई युएईले हराएको थियो । गत अप्रीलमा मलेसियामा भएको विश्वकप छनोटमा नेपाल डीएल पद्दतिको आधारमा १ रनले पराजित भएको थियो । वर्षाले प्रभावित बनेको उक्त खेलको हारले नेपाल विश्वकपमा पुग्न असफल भएको थियो ।

नेपाल उक्त हारको बदलामा समेत हुनेछ । युएई भने नेपालमाथि उक्त जितलाई कायम राख्न चाहन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button