तपाईँ सुन्दै हुनुहुन्छः

अत्याधुनिक बसपार्क तयार

राँझा-नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँले केहीदिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिनुभयो ।

बसपार्कमा पार्किङ नगरी सडकका छेउछाउ बस रोक्दा दुर्घटनाको जोखिम हुनुका साथै अशोभनीय देखिएकाले सबै बसलाई बसपार्कभित्रै राख्ने अनिवार्य व्यवस्था कायम गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण गरेको हो ।

यातायातका साधनबाट असुली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगरपालिकाको योजना छ । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ । निर्माण कम्पनीले मुख्यद्धार र पक्की पर्खाल निर्माणको समेत जिम्मा लिएको उपमहानगरका इञ्जिनीयर सुरजकुमार गुप्ताले बताउनुभयो ।

उहाँका अनुसार, बसपार्क निर्माणको जिम्मा युनाइटेड बिल्डर्सले रु २० करोड लागत अनुमान गरिएकामा रु १४ करोड ९४ हजारमा ठेक्का लिएको थियो । पटक–पटक म्याद थप गरी करिव एक वर्ष ढिलो गरी निर्माण कम्पनीले बसपार्क निर्माणको काम सम्पन्न गरेको छ । करीब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणका लागि यातायात व्यवसायीले पनि दबाब दिँदै आएका थिए ।

हरेक गाडीबाट दैनिक रु २० देखि रु १०० सम्म शुल्क उठाउँदै आएको बसपार्कमा अत्याधुनिक सेवा सुविधा दिन थालेपछि सेवा शुल्क बढाउने सहमति भइसकेको छ । भेरी बस व्यवसायी प्रालिका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले बसपार्क सञ्चालन नहुँदा यातायात व्यवसायी र यात्रुले दुःख झेल्नुपरेकाले तुरुन्त सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, नेपालगञ्ज बसपार्कबाट काठमाडौँलगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक ६०० बढी साना ठूला बस सञ्चालन हुने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button