तपाईँ सुन्दै हुनुहुन्छः

बीबीसीको आयोजनामा बनेपा महोत्सव हुने

 

बनेपाब्वाइज क्लब (बीबीसी) बनेपाको आयोजनामा आगामी असोज ६ गतेदेखि ११ दिनसम्म ‘बनेपा महोत्सव–२०७६’ हुनेभएको छ ।

क्लबले आयोजना गर्न लागेको यो तेस्रो महोत्सव हो । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको पावन अवसरमा आयोजना हुने तेस्रो व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०७६’ गर्न लागिएको क्लबले जनाएको छ । “खेलाडी पाल्न, तालीम सञ्चालन गर्न र कुनै पनि खेलमा भाग लिन पठाउनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले प्रत्येक वर्ष बनेपा महोत्सव गर्दै आएका छौंँ”, क्लबका अध्यक्ष महेश कर्माचार्यले भन्नुभयो ।

राष्ट्रियस्तरको खेलहरुमा आफ्नो दरिलो सहभागिता जनाउँदै काभ्रे जिल्लालाई पहिचान दिन सफल भएको उल्लेख गर्दै क्लबका उपाध्यक्ष हरिकुमार कर्माचार्यले बनेपा ब्वाइज क्लब अहिले राष्ट्रियस्तरको ‘सी’ डिभिजन लिगमा पु¥याउने उद्देश्यसहित तयारी गरिरहेको बताउनुभयो । खेलाडीहरुलाई आवश्यक आर्थिक व्यवस्थापनका लागि रकम अभाव भएकाले आर्थिक सङ्कलन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्नुपरेको उहाँको भनाइ छ ।

मेलामा कृषि, घरेलु सामग्रीलगायत एक सयभन्दा बढी व्यापारिक कक्ष रहने आयोजकले जनाएको छ । साथै बालबालिकालाई मनोरञ्जनका लागि बालउद्यान र हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकाहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमा गर्न लागिएको महोत्सव असोज १६ गतेसम्म चल्नेछ । पहिलो वर्ष आयोजना गरेको महोत्वसमा घाटा लागेपछि दोस्रो वर्ष आयोजना गरेको महोत्सवबाट रु तीन लाख ७२ हजार ८९० सङ्कलन भएको र सोही रकमबाट खेलाडीहरुलाई खेल तयारी गरिरहेको क्लबका अध्यक्ष कर्माचार्यले बताउनुभयो । -रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button