तपाईँ सुन्दै हुनुहुन्छः

सीमा प्रशासन कार्यालय बन्द हुँदा सेवाग्राहीलाई सास्ती

सोलुखुम्बु –  सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा प्रशासनिक कामकाजका लागि स्थापना गरिएको सीमा प्रशासन कार्यालय महिनौँदेखि बन्द हुदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । अधिकृत तहको एक र कार्यालय सहयोगी गरी दुई जना कर्मचारी कार्यरत कार्यालयमा लामो समयदेखि कार्यालय प्रमुख विदामा बसेपछि नागरिकता वितरण तथा राहदानी सिफारिसमा समस्या भएको हो ।

यी कामका लागि खुम्बुका सर्वसाधारण तीन दिनको बाटो हिडेर सल्लेरी धाउनुपर्ने बाध्यता भएको छ । कार्यालय प्रमुख नवदिप राईले परीक्षा दिन भन्दै साउनको मध्यतिर खुम्बु छाडेको र कार्यालय सहयोगी समेत एक हप्तादेखि काठमाण्डौँ रहेकाले सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीय बताउँछन् ।

अहिले नागरिकता बनाउनका लागि सल्लेरी झर्नुपर्ने बाध्यता रहेको छ भने प्रतिलिपि बनाउनका लागि पुरानो रेकर्ड हेर्ने कर्मचारी समेत नहुँदा सल्लेरीको बसाई लम्बिएको एक सेवाग्राहीले गुनासो गर्नुभयो । स्थानीयले तीन महिनादेखि सीमा प्रशासन कार्यालयका प्रमुख नरहेको गुनासो गरेका छन् तर कार्यालय सहयोगी पेम्बाछिरी शेर्पाले एक महिनादेखि कार्यालय प्रमुख विदामा रहेको स्विकार गर्नुभयो । उहाँले भदौको पहिलो हप्ता आउँछु भनेपनि अहिलेसम्म नआएको बताउनुभयो ।

कार्यालय प्रमुख परीक्षाका लागि विदामा बसेको भनिएपनि कुनैपनि निकायमा आधिकारिक विदा स्विकृत गराएको जानकारी छैन् । जिल्ला प्रशासन कार्यालयमा समेत विदा बारे लिखित जानकारी नभएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । गृह मन्त्रालयमा बुझ्दा नवदिप राईले अन्यत्र जानका लागि सहमति लिईसकेको जानकारी पाएको प्रजिअ खनालले बताउनुभयो । अहिलेसम्म सम्पर्क बिहीन रहेकाले यर्थाथ पत्ता लगाउन एउटा कर्मचारीलाई तोकेर त्यसतर्फ पठाएको र सबै विवरण आएपछि मन्त्रालयमा लेख्ने उहाँको भनाइ छ ।

खुम्बुपासाङल्हमू गाउँपालिकाले पनि कुनै जानकारी नपाएको बताएको छ । प्रवक्ता ल्हाक्पाछिरी शेर्पा कार्यालय बन्द हुँदा सर्वसाधारणले दुःख पाएको विषयमा जानकार भएपनि सीमा प्रशासनले स्थानीय सरकारसँग कुनैपनि समन्वय नगरेको बताउनुभयो । भौगौलिक कठिनाईका कारण त्यस भेगका नागरिकलाई प्रशासनिक सेवा दिन स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा नियमित कर्मचारी नबस्दा त्यस भेगका नागरिक पटक पटक सल्लेरी झर्नुपर्ने बाध्यता सिर्जना हँुदै आएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा कामको चाप हेरेर सीमा प्रशासन कार्यालयका प्रमुखलाई झिकाई जिम्मेवारी दिइदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button