तपाईँ सुन्दै हुनुहुन्छः

विज्ञापन नियमन गर्ने विधेयक २०७६ पारित

सुरेन्द्रमणि त्रिपाठी । प्रतिनिधि सभाको आजको बैठकले विज्ञापन नियमन गर्ने विधेयक २०७६ लाई पारित गरेको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि विधेयक गोकुल प्रसाद बाँस्कोटाले विज्ञापन नियमन गर्ने विधेयक २०७६ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधि सभाको आजकै बैठकमा सार्वजनिक महत्वको बक्तब्य दिनुहुंदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सोमवार भिडियो कन्फ्रेन्शबाट प्रधानमन्त्रीसंग कुरा भएको र त्यस क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जानकारी लेनदेन मात्र भएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भिडियो कन्फ्रेन्शबाट मन्त्रीपरिषद् बैठक नभएको तर त्यसलाई मन्त्रीपरिषद बैठक भनेर गलत प्रचार गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले संकटपूर्ण दिनमा पनि देशको सार्वभौमिकताका लागि लड्नु भएको उल्लेख गर्दै उहाँका सम्वन्धमा हल्का ढंगले टिप्पणी गर्नु उपयुक्त नभएको बताउनुभयो ।

बैठकमा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितीका सभापति विमल प्रसाद श्रीवास्तवका तर्फबाट समितीका सदस्य सोम प्रसाद पाण्डेले औद्योगिक व्यवसाय विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ प्रस्तुत गर्नुभयो ।

यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाउनु भएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक सहायताको अवस्था उत्साहजनक रहेको बताउनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले नेपालको बैंकिग क्षेत्रमा स्वदेशी तथा बिदेशी लगानी रहेको र त्यसबाट बैकिंग क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्र्याउन मद्दत पुगिरहेको बताउनुभयो ।

यसअघि प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्याको समाधान, बाढीपहिरो पीडितलाई राहतको व्यवस्था, नागरिकता सम्बन्धी बिधेयक तत्काल पारित गरेर नागरिकता समस्याको समाधान गर्न माग गर्नुभयो ।

सांसदहरुले सप्तरीको राजविराज विमानस्थलमा नियमित उडानको व्यवस्था मिलाउन, देश लोडसेडिंग मुक्त भएको भनिएपनि अझैपनि देशका केही भागमा बिजुली कटौती गर्ने गरिएकाले त्यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौं १८ गते बुधबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button