तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ । प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले चौथो अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको जानकारी दिनुभयो ।

गत जेठ १ गते शुरु भएको चौथो अधिवेशनमा सुदूरपश्चिम स्वरोजगार विकास कोषका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायत आठ विधेयक पारित भएको थियोे ।

अधिवेशनको समापनका अवसरमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङले प्रदेशसभाबाट सुदूरपश्चिमका जनताका लागि केही राम्रा काम भएको उल्लेख गर्दै भए गरेका काम र कमी कमजोरीबाट शिक्षा लिँदै अघि बढ्नुपर्ने बताउनुभयो । प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले प्रदेशसभाबाट विभिन्न विधेयक पारित हुन सक्नु उपलब्धिको विषय भए पनि प्रदेश सरकार शान्तिसुरक्षा कायम गर्न, भ्रष्टाचार रोक्न र सुशासन दिन विफल भएको टिप्पणी गर्नुभयो । राष्ट्रिय जनता पार्टीका मालामती कुमारी रानाथारूले ऐन बनेपछि यसको कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने, प्रदेशसभामा उठेका प्रश्नको जवाफ आउनुपर्ने भन्दै सरकारले सुशासन दिन नसकेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button