तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकाको फोहोर फाल्न बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बन्न शुरु

काठमाडौँ।काठमाडौँ उपत्यकाको फोहर फाल्ने उपयुक्त स्थानका रुपमा हेरिएको ‘बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण कार्य शुरु भएको छ । उपत्यकाभरको फोहर ५० वर्षसम्म विसर्जन गर्न मिल्ने सो स्थानमा विभिन्न संरचना निर्माणका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भएको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागले संरचना निर्माणको काम ठेकेदार कम्पनीमार्फत गराइरहेको छ । पूरै संरचना दुई चरणमा गरेर सम्पन्न गर्ने योजना रहेको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मनोज नकर्मीले बताउनुभयो । पहिलो चरणको रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा ठेक्कामा भएर काम शुरु भएको छ ।

गत वैशाख २२ मा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई एक वर्षमा काम सम्पन्न गर्ने गरेर ठेक्का सम्झौता भएको थियो । पहिलो चरणमा आवश्यक पूर्वाधार निर्माणका काम रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ल्याडफिल साइटसम्मको सडक निर्माण, प्रयोग हुने सामग्रीको परीक्षण, सो स्थानसम्म विद्युत् विस्तारको काम शुरु भइसकेको छ ।”

वैशाखमा शुरु भएकामा गत असारसम्ममा सो स्थानमा निर्माण कार्य अघि बढाउन अस्थायी सडक निर्माण भइसकेको विभागका प्रवक्ता चन्द्रशेखर महतोले जानकारी दिनुभयो । साइट निर्माणमा प्रयोग हुने निर्माण सामग्रीमध्ये कतिपयको परीक्षण भइसकेको छ भने कतिपयको भइरहेको उहाँले बताउनुभयो । ल्याडफिल साइट सञ्चालनका लागि आवश्यक पर्ने भवन निर्माणलगायत पूर्वाधार निर्माणको काम अघि बढिरहेको उहाँले बताउनुभयो ।

सो स्थानमा यसअघि बिजुली नभएकाले बिजुली जडानका लागि प्रशारण लाइन विस्तार गर्न खरीद प्रक्रिया अघि बढेको बताइएको छ । ठेकेदारले आगामी असारसम्ममा पहिलो चरणको काम सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कामको हामीले नियमितरुपमा अनुगमन र निरीक्षण पनि गरिरहेका छौँ ।”

अहिले सिसडोल भरिसकेकाले पनि सकेसम्म चाँडो काम गरेर समयमै सम्पन्न गराउन लागिपरेको वरिष्ठ डिभिजनल इञ्जिनीयर नकर्मीले बताउनुभयो । ठेक्का भएको ठाउँमा काम नियमित भइरहेको र काम रोकिने अवस्था आउनासाथ त्यसको समाधान खोजिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले काम सम्पन्न गरेर स्थानीय तहलाई नै हस्तान्तरण गर्ने योजना छ ।”

पहिलो चरणको काम भइरहँदा नै दास्रो चरणको काम अघि बढाउने योजना रहेको प्रवक्ता महतोले बताउनुभयो । अहिले डिजाइन सकिएकाले तीन÷चार दिनभित्रै दोस्रो चरणको ठेक्का आह्वान हुने उहाँले बताउनुभयो । दोस्रो चरणमा फोहरको सङ्कलन लगायतका पक्की संरचना निर्माणका काम हुनेछन् । अहिले दुई चरणमा काम सम्पन्न भए पनि दोस्रो चरणको काम सकिएपछि पनि तेस्रो चरणमा थप काम गर्न सकिने विषयमा छलफल भइरहेको प्रवक्ता महतोले बताउनुभयो । तेस्रो चरणमा वर्गीकरणको काम हुने बताइएको छ ।

“फोहरको परिमाण कम गर्नका लागि वर्गीकरणको काम यो चरणमा हुनेछ”, उहाँले भन्नुभयो, “बञ्चरेडाँडाभन्दा केही वर आलेटारमा वर्गीकरण हुँदा कम फोहर मात्रै ल्याडफिल साइट जान्छ ।” सो साइटको क्षमता झण्डै ५० लाख घनमिटर रहने विभागले जनाएको छ । विभागकै अनुसार अहिले दैनिक विसर्जन हुनसक्ने फोहर कुहिने, नकुहिने, पुनःप्रयोग हुनेसमेत एकै ठाउँमा हाल्दा २० र छुट्याएर पुनःप्रयोगमा नआउँदा फोहर मात्रै विसर्जन गर्दा ५० वर्षसम्मका लागि फोहर व्यवस्थापन हुनसक्ने बताइएको छ ।

काठमाडौँमा उपत्यकामा विसर्जन गर्नुपर्ने फोहरको परिमाण बढिरहँदा झण्डै एक दशक पहिले नै सिसडोलको विकल्पका रुपमा बञ्चरेडाँडालाई हेरिएको थियो । सो स्थानमा ल्याडफिल साइट निर्माणमा चासो देखाएका दुई संस्था पछि सरेसँगै कसले निर्माण गर्ने भन्ने अन्योल रहेको थियो ।

मन्त्रिपरिषद्को विसं २०७५ मङ्सिर १७ गते शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । सो मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले ठेक्का सम्झौतामार्फत काम अघि बढाएको हो ।

सिसडोलले धान्यो १३ वर्ष

विसं २०६२ देखि कामपाले सिसडोलमा फोहर विसर्जन गर्दै आएको छ । कामपापछि अरू स्थानीय तहले समेत सङ्कलित फोहर सिसडोल नै लैजाने गरेका छन् ।

उपत्यकाका २१ पालिकामध्ये दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका छन् । त्यसमध्ये १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिक टन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकाले दैनिक दैनिक ४० देखि ५० मेट्रिक टन फोहर सङ्कलन गर्ने गरेको छ । दुई वर्षका लागि भनेर शुरु भएकामा अहिले १३ वर्ष बित्दा पनि सिसडोलमै फोहर विसर्जन भइरहेको हो ।

फोहरका कारण दुर्गन्ध फैलिएको र स्वास्थ्यमा असर पुगेको भन्दै स्थानीयवासीले पटकपटक अवरोध गर्दै आएका छन् । पछिल्लो पटक गत असारमा पनि स्थानीयका अवरोधका कारण एक सातासम्म उपत्यकाको फोहर उठ्न सकेको थिएन । -रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button