तपाईँ सुन्दै हुनुहुन्छः

मंसिर १४ गते ५० पदमा उपनिर्वाचन हुँदै

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कार्यकारी पदमा आउँदो मंसिर १४ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।निर्वाचन आयोगका अनुसार ३७ जिल्लामा एक उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१, प्रदेशसभा सदस्य ३, र प्रतिनिधिसभा सदस्य १ स्थानमा रिक्त छ । कूल ५० पदका लागि निर्वाचन हुनेछ ।

आयोगले २०७४ मा सम्पन्न स्थानीय तह, प्रदेश तह तथा प्रतिनिधिसभा सदस्य निर्वाचन भएपछि विभिन्न कारणले रिक्त रहेका स्थानमा निर्वाचन गर्ने तयारी गरेको हो । सरकार र राजनीतिक दलको परामर्शमा आयोगले उपनिर्वाचनको मिति तोकिसकेको छ ।३८ वडाध्यक्षमध्ये अधिकांशको मृत्यु भएका कारण स्थान रिक्त छ । केहीमा भने अध्यक्षहरु जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण खाली छ ।

प्रतिनिधिसभातर्फ बाहलवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की २ मा स्थान रिक्त छ । अधिकारी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।
यस्तै प्रदेशसभातर्फ, भक्तपुर, बाग्लुङ र दाङका एक–एक स्थान रिक्त छन् । भक्तपुर १ (क) का प्रदेशसभा सदस्य हरिशरण लामिछाने मृत्युपछि उक्त स्थान रिक्त छ । लामिछाने तत्कालीन एमालेबाट विजयी भएका थिए ।

यस्तै बाग्लुङ क्षेत्र नम्बर २ (ख) का टेकबहादुर घर्ती र दाङ ३ (ख) का उत्तरकुमार ओलीको निधनपछि उक्त क्षेत्रहरू खाली छन् । घर्ती जनमोर्चाका तर्फबाट बाग्लुङमा विजयी भएका थिए । ओली तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्वाङ, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमालको निधनका कारण स्थान रिक्त छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button