तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधिको सवारीसाधनप्रति मोह

लामो समयसम्म देशभर स्थानीय तहमा जनप्रतिनिधि रिक्त रह्यो । झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आएका राजनीतिक दलका नेता अधिकांश सुविधा भोगी देखिएका छन् । जनप्रतिनिधि स्थानीय तहमा आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा भएको छ । दाङ जिल्लामा मात्रै पनि करीब रु २३ देखि ६० लाखसम्मका सवारीसाधन जनप्रतिनिधिले प्रयोग गर्दै आएका छन् । ऐन कानूनमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सवारीसाधनको सुविधा पाउने उल्लेख छ । सोही कानूनलाई टेकेर चर्को मूल्यका सवारीसाधन उनीहरुले किनिरहेका छन् । स्थानीय तहमा प्रमुखदेखि वडाध्यक्षसम्मले सरकारी सवारीसाधन प्रयोग गरेको पाइन्छ । केही वडाध्यक्षहरूले सवारी प्रयोग नगरे पनि अधिकांशले प्रयोग गरेका छन् । तुलसीपुर उपमहानगरमा जनप्रतिनिधि आएपछि २० वटा मोटरसाइकल तथा नगर प्रमुख र प्रशासकीय अधिकृतका लागि महँगो मूल्यको गाडी खरीद गरिएको छ । उपमहानगरपालिकाले एउटा मारुती कार, एउटा टाटा जीप, एउटा १५० सिसीको मोटरसाइकल र १२५ सिसीको मोटरसाइकल २० वटा खरीद गरेको उपमहानगरका सूचना अधिकारी झरेन्द्र खरेलले बताउनुभयो । नगर प्रमुख धनश्याम पाण्डेको सवारी करीब रु ५२ लाखको हो । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत रु ३९ लाख १९ हजार ४६९ को मारुती कारमा चढ्नुहुन्छ । त्यस्तै, १९ वटा वडा कार्यालय र एक जनस्वास्थ्य महाशाखासहित २० वटा मोटरसाइकल रु ४१ लाख १४ हजार ३७९ मा खरीद गरिएको सूचना अधिकारी खरेलले जानकारी दिनुभयो । तुलसीपुरका ६, ९ र १८ वडा नम्बरले नगरले किनेको मोटरसाइकल प्रयोग गरेका छ्रैनन् । त्यस्तै, बबई गाउँपालिकामा पनि जनप्रतिनिधि र कर्मचारीको लागि मोटरसाइकल र गाडी खरीद गरिएको छ । गाउँपालिका प्रमुखका लागि रु ५० लाखको स्कार्पियो, उपप्रमुखका लागि स्कुटर र वडाध्यक्ष र अन्य शाखाका लागि १३ वटा विभिन्न कम्पनीका मोटरसाइकल किनिएको छ । पालिकाले प्रतिमोटरसाइकल रु दुई लाख ३८ हजार खर्च गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर मल्लले बताउनुभयो । साविकको गाविस हुने बेलाका दुई वटा मोटरसाइकलबाहेक अन्य १५० सिसीका पल्सर भएको उहाँले जानकारी दिनुभयो । सवारी मोहको बारेमा जिज्ञासा राख्दा बबईका अध्यक्ष भुवनेश्वर पौडेलले कामको सिलसिलामा आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले सवारीका साधन खरीद गर्नुपरेको बताउनुभयो । उहाँले आर्थिक वर्ष ०७४÷७५ मा १० वटा मोटरसाइकल किनेको र अघिल्लो आवमा तीन वटा खरीद गरिएको बताउनुभयो । शान्तिनगरका प्रमुख कमानसिंह डाँगी पनि रु ५० लाखको गाडीमा चढ्नु हुन्छ । उपाध्यक्ष मिथिला शाहले भने पल्सर बाइक चढ्दै आउनुभएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीका अनुसार वडाध्यक्षहरूका लागि प्रतिमोटरसाइकल करीब रु दुई लाख ५० हजार मूल्यका सात वटा बाइक पनि पालिकाले खरीद गरेको छ । पालिकाले उपलब्ध गराएको मोटरसाइकल भने वडा नम्बर ७ का अध्यक्षले फिर्ता गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button