तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३ का पत्रकारलाई आधुनिक परिचयपत्र

मकवानपुर-३ नम्बर प्रदेशको सञ्चार रजिष्टरको कार्यलयले बिहीबारबाट आधुनिक पत्रकार परिचयपत्र बितरण कार्य सुरु गरेको छ । प्रदेश रजिष्टार कार्यालयको सूचना तथा प्रसारण शाखा काठमान्डौंले बिहीबार पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र वितरण गरेको छ । कार्यालयको उद्घाटनका अवसरमा बिहीबार पत्रकारहरुलाई सो परिचयपत्र बितरण गरिएको हो ।

सञ्चार माध्यम व्यवस्थापन सूचना प्रणाली (सिएमआइएस) वेभ एप्लिकेसन सफट्वेयर मार्फत पत्रकारहरुबाट निवेदन प्राप्त गरी सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ को शाखा कार्यालयले बिहिबारदेखि पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र वितरण शुरु गरेको प्रदेश ३ का रजिष्टार रेवती सापकोटाले जानकारी दिनुभयो । काठमाडौमा सूचना तथा प्रसारण शाखाको उदघाटनका अवसरमा सञ्चार रजिष्ट्रारको कार्यालयले मापदण्ड पुगेका पत्रकारहरुलाई स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यालयको बिहीबार ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कटेलले उद्घाटन गर्नुभएको थियो । कार्यालयको उद्घाटनकै अवसरमा मन्त्री जम्कटेलले सञ्चार रजिष्ट्रारको कार्यालयको स्वतन्त्र पत्रकार परिचयपत्र बरिष्ठ पत्रकार युवराज घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा पत्रकारहरु राजकुमार रेग्मी, सुरेन्द्र पाण्डे, चिरञ्जीवी ढुंगाना, अरुणदेव जोशी, मनोज दाहाल, मात्रिका पौडेल, गंगा बिसी, अर्जुन खडका, सरस्वती कर्माचार्य, मणि लोहनी, छेटु शेर्पा र दिपा दाहालले परिचयपत्र प्राप्त गर्नुभएको छ ।

काठमाडौ उपत्यका र आसपासका जिल्लाका रेडियो, टेलिभिजन, अनलाईन र पत्रिकाको काम गर्न सहज होस भन्ने उद्देश्यकासाथ ३ नम्बर प्रदेशको प्रदेश प्रेस रजिष्ट्रारको शाखा कार्यालय काठमाडौंमा स्थापना गरिएको हो । हेटौंडामा मुख्य कार्यालय र काठमाडौंमा सेवा कार्यालय स्थापना गरिएको हो । पत्रपत्रिकाको अभिलेख र प्रेस पास भने दुवै कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिएको समेत उहाँले स्पष्ट पार्नुभयो । प्रदेशका रेडियो, टेलिभिजन, अनलाईन र पत्रिकाको इजाजत, नवीकरण, नियमनका काम गर्ने गरि ३ नम्बर प्रदेश सरकारले २०७५ साल चैत्र २७ गतेको मन्त्री परिषद् बैठकको निर्णयबाट प्रेस रजिष्ट्रारको नियुक्ति गरेर काम सुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button