तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भन्सार विभागले आज राजधानीमा आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउनुभयो ।
उहाँले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिँदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नयनका निम्ति कानूनी एवं संरचनागत सुधारमा लागेको बताउनुभयो ।
राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्रलाई आह्वान गर्दै अर्थमन्त्री डा. खतिवडाले भन्सार र व्यापारका पूर्वाधार बनाउन र सुस्तगतिमा भइरहेको औद्योगिकीकरणलाई द्रूतगतिमा बढाउन सार्वजनिक–निजी साझेदारी आवश्यक भएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री डा. खतिवडाले भन्नुभयो, “कर सुविधा प्राप्त एवं संरक्षित क्षेत्रमा लगानी गरेर उद्योग÷व्यवसायलाई बढावा दिनेतर्फ लाग्नुहोस्, राष्ट्रिय अर्थतन्त्र प्रवद्र्धनमा हामी सघाउन तत्पर छौँ ।”
चोरी निकासी पैठारी नियन्त्रणमा इमान्दारीपूर्वक लाग्न सम्बद्ध पक्षलाई उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा अर्थसचिव डा. राजन खनालले कारोवारमा आधारित भन्सार प्रणाली क्रमशः विकास गर्दै जाने सरकारको नीति रहेको जानकारी दिनुभयो ।
भन्सार विभागका महानिर्देशक रामेश्वर दङ्गालले भैरहवा, नेपालगञ्ज, विराटनगर र वीरगञ्जजस्ता ठूला र देशभरका २४ वटा भन्सार कार्यालयलाई आर्थिक गतिविधिका लागि बैंकिङ कारोवारमा रूपान्तरण गरिएको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button