तपाईँ सुन्दै हुनुहुन्छः

मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

बाँके-मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो ।

उहाँले मस्जिदमा नमाज पढ्दा र कुनै शुभकार्य गर्दा इस्लाम धर्मावलम्बीलाई टोपी अनिवार्य गरिएको बताउनुभयो । मुस्लिम समुदायले आफ्नै परम्पराअनुसारको टोपी लगाउँदै आए पनि पछिल्लो समयमा बाँकेका मुस्लिम समुदायका अगुवाहरुले देशको राष्ट्रियता झल्कने ढाकाटोपी लगाउन थालेका छन् । इस्लाम धर्ममा कुन टोपी लगाउने भन्ने तोकिएको छैन । त्यसैले पनि पूजाआजा वा शुभकार्य गर्दा ढाकाटोपी लगाउने प्रचलन बढ्न थालेको धर्मगुरु मन्जरीको भनाइ छ ।

यहाँका मुस्लिम समुदायमा ढाकाटोपी लगाउनेको सङ्ख्या बढ्दो छ । अधिकांश मुस्लिम अगुवा ढाकाटोपीमा सजिएर विभिन्न कार्यक्रम, सभा, समारोह वा अन्य कुनै शुभकार्यमा मात्र नभई घर, पसल तथा बाहिर कतै जाँदा ढाकाटोपी लगाउन थालेका छन् । कुनै शुभकार्य वा धार्मिककार्य गर्दा टोपी लगाएर मात्र गर्ने प्रचलन रहेको छ । राष्ट्रियता र पहिचानका लागि अधिकांश मुस्लिमले टोपी लगाउने गरेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर मुस्लिम युवा लतिफ सल्मानी बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button