तपाईँ सुन्दै हुनुहुन्छः

१३औं साग लक्षित कुस्तीको बन्द प्रशिक्षण हेटौंडामा सुरु

बिश्व अधिकारी, मकवानपुर । आगामी मंसिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गर्दै कुस्तीको बन्द प्रशिक्षण आईतबारबाट हेटौंडामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको सहयोगमा नेपाल कुस्ती संघको आयोजनामा प्रशिक्षण हेटौंडा उपमहानगरपालिकाद्धारा निमार्ण गरिएको ईन्डोर कबर्डहलमा सुरु भएको हो । उपमहानगरपालिकाले सबै प्रकारका ईन्डोर खेल खेल्न मिल्ने गरि यसै वर्ष कबर्डहल निर्माण गरेको छ ।

बन्द प्रशिक्षणमा २० जना महिला र २० जना पुरुष गरि ४० जना खेलाडीको सहभागिता रहेको छ । बन्द प्रशिक्षणमा प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा सहभागि तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिष्पर्धामा सहभागि खेलाडीहरुलाई सहभागि गराईएको कुस्तीका राष्ट्रिय प्रमुख प्रशिक्षक ब्रह्मदेव प्रसाद यादवले जानकारी दिनुभयो । खेलाडीको अन्तिम चरणको छनोट बन्द प्रशिक्षण पछि हुने समेत उहाँले जानकारी दिनुभएको छ । मुख्य प्रशिक्षक ब्रह्मदेव प्रसाद यादवसंगै धर्मराज प्रसाद यादव, ममताजअलि ईद्रीस, शिवधारी यादव र राजेन्द्र चन्दले खेलाडिहरुलाई बन्द प्रशिक्षणमा प्रशिक्षण प्रदान गर्नुहुने छ ।

३ नम्बर प्रदेशको राजधानी हेटौंडामा आईतबार सुरु बन्द प्रशिक्षणको उद्घाटन मुस्लीम आयोगका अध्यक्ष तथा नेपाल कुस्ती संघका केन्द्रीय उपाध्यक्ष समिम मीया अन्सारीले गर्नुभएको हो । प्रशिक्षणको उद्घाटन गर्दै अन्सारीले खेल क्षेत्रमा स्थानिय तहहरुले बिषेश ध्यान दिनुपर्ने बताउनु भएको छ । खेलकुदको माध्यमबाट देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन समेत सहज हुने भन्दै यसमा तीनै तहको सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले खेलाडीहरुलाई इमान्दारीपूर्वक प्रशिक्षणमा सहभागि भई साग प्रतियोगिताबाट उत्कृष्ट नतिजा ल्याउन प्रयासरत रहन आग्रह समेत गर्नुभयो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमलसिनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, नेपाल कुस्ती संघका कोषाध्यक्ष जबस मिया मन्सुरी, केन्द्रीय सदस्य सानु लामालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button