तपाईँ सुन्दै हुनुहुन्छः

ग्रीष्मकालीन ‘पेरिस ओलम्पिक’ आज राति औपचारिक सुरुवात हुँदै 

काठमाडौँ । विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औँ ग्रीष्मकालीन ओलम्पिक ‘पेरिस ओलम्पिक’ आज औपचारिक सुरुवात हुँदैछ । नेपाली समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ ।

विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको छ । ३ लाख भन्दा दर्शकले प्रत्यक्ष उद्घाटन समारोह हेर्ने विश्वास गरिएको छ ।

ओलम्पिक सहभागी खेलाडीको मार्च सेन नदीमाथि अगाडि बढ्ने ढुङ्गामा हुनेछ । ओलम्पिकलाई नै लक्षित गरेर सेन नदीलाई सफा गरिएको थियो । १६ दिन सम्म चल्ने ओलम्पिकमा कुल ३२ खेलको ३ सय २९ विधामा प्रतिस्पर्धा हुनेछ । पदकमा आइफल टावरबाट झिकिएको फलामको अंश पनि रहनेछ । ओलम्पिकमा ९ अर्ब युरो खर्च हुनेछ ।

मार्च पासमा नेपाली खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यसअघि नै सार्वजनिक गरिसकेको छ । १६ दिन सम्म चल्ने ओलम्पिकमा स्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन् ।

विगतमा जस्तै टोलीमा खेलाडी, प्रशिक्षक भन्दा अफिसियल बढी रहेको भन्दै एनओसीको आलोचना हुँदै आएको छ । प्रिन्स विना प्रशिक्षक ओलम्पिक खेल्दै छन् । ७ खेलाडीसहित २७ जना नेपालको ओलम्पिक टोलीमा रहेको बताइएको छ ।

छनोट चरण पार गरेर ओलम्पिक पुगेका नेपाली टेबल टेनिस स्टार स्यान्टुले सेनेगलका इब्राहिमा डियासँग शनिबार खेल्नेछन् । त्यस्तै समूह पीमा रहेका प्रिन्सले पहिलो खेल विश्व वरियताको दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सनसँग खेल्नेछन् ।

स्यान्टु दक्षिण एसियाको छनोट पार गर्दै ओलम्पिक पुगेका थिए । सन् १९६४ बाट ओलम्पिकमा भाग लिन सुरु गरेको नेपालका लागि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो खेलाडी हुने ।

नेपालले काभा वमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलङ्काको सामना गर्ने भएको छ ।

नेपालसहित ५ राष्ट्रको सहभागिता साउन १७ गते नेसन्स लिग सुरु हुँदैछ। नेपाल, श्रीलङ्कासहित इरान, भारत र मालदिभ्सले नेसन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक नेपाल भलिबल सङ्घले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेसन्स लिगको ट्रफी सार्वजनिक गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गर्नु भयो । सङ्घले नेसन्स लिगको लागि तयारी पूरा भएको जनाएको छ ।

संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द संयोजकत्वमा विभिन्न २१ वटा उप–समिति गठन भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

७ दिन सम्म चल्ने प्रतियोगिताको पहिलो दिन इरान र भारतबीच खेल हुनेछ । नेपालले साउन १८ गते भारतसँग, साउन २० गते मालदिभ्स र साउन २१ गते नेपालले इरानको सामना गर्नेछ ।

राउन्ड रोविन लिगपछि अङ्क तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन २२ गते सेमिफाइनल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button