तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गर्नुभएको छ । सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ । 

काठमाडौँस्थित दूतावासमा आयोजित कार्यक्रममा राजदूत थेयङले नेपाली तेक्वान्दो महिला खेलाडी पलेशा गोवद्र्धन र पुरुष खेलाडी भरतसिंह महतलाई सम्मानसहित बिदाइ गर्नुभएको हो । खेलको माध्यमबाट नेपालको गरिमा बढाउन सकिने अवसर रहेको बताउनुहुँदै उहाँले नेपालका खेलकुद क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन कोरिया सरकार निरन्तर लागिपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष बनबहादुर चन्दलगायत दूतावासका कर्मचारीको उपस्थिति रहेको थियो ।

फ्रान्सको पेरिस प्रस्थान गर्ने टोलीमा प्रशिक्षक कविराज नेगी लामा, टिम मेनेजर रामचन्द्र श्रेष्ठसहितको टोलीले सहभागिता जनाउनेछन् । साथै उक्त टोली आजै पेरिसतर्फ प्रस्थान गर्नेछ । कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको उपलक्षमा दक्षिण कोरियाली दूतावासले यस वर्ष विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button