तपाईँ सुन्दै हुनुहुन्छः

दशौं खेलकुद प्रतियोगिताको तयारी सुरु गर्न मन्त्री थापाको निर्देशन

पोखरा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गर्न गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निर्देशन दिनु भएको छ । 

प्रदेश खेलकुद परिषद् गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले नवौं खेलकुदमा गण्डकीले राखेको साख जोगाउने गरी आवश्यक तयारीमा जुट्न परिषद्लाई निर्देशन दिनु भएको हो । 

आवश्यक खेल मैदान मर्मत सम्भारका कार्यहरू गर्न समेत निर्देशन दिँदै उहाँले चालु आर्थिक वर्षमा बजेटमा सम्बोधन हुन नसकेका कार्यक्रमहरूलाई समेत मन्त्रालयको तर्फबाट पहल गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता  व्यक्त गर्नु भयो । पोखरामा भएको नवौं खेलकुदमा गण्डकीले ३२ स्वर्ण पदक सहित प्रदेशमा प्रथम समग्रमा चौथो भएको थियो ।

प्रदेशलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण रहेको जनाउँदै उहाँले सबै क्षेत्रमा बजेट घटेको उल्लेख गर्दै खेलकुदमा पनि त्यसको मार परेकोले त्यसमा चिन्ता नगरी  सीमित स्रोत साधनको उच्चतम उपयोग गर्न आग्रह गर्नु भयो । 

कार्यक्रममा परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङले दशौं राष्ट्रिय खेलकुदमा नवौँको जस्तै गरी नतिजा ल्याउन परिषद् गम्भीर रुपमा अघि बढ्नु पर्ने राय व्यक्त गर्नुभयो । सबै प्रदेशहरूले आफ्नै रंगशाला निर्माण कार्य अघि बढाइरहेकोले गण्डकी प्रदेशले समेत आफ्नै व्यवस्थित रंगशाला निर्माण कार्यका लागि पहल गर्न आवश्यक भएको बताउनु भयो । 

बैठकमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले जिल्लाहरूमा रहेका खेलकुद मैदानहरूको निर्माण खेलाडी उत्पादनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै चालु बजेटले विगतमा जस्तै गरी सम्बोधन गरेको उल्लेख गर्नु भयो । 

बैठकमा परिषद्का सदस्य सचिव श्रीधर शर्माले गत आर्थिक वर्ष सम्पन्न कार्यक्रमहरू र चालु आर्थिक वर्षका बजेट तथा कार्यक्रमहरूका बारेमा जानकारी गराउनु भएको थियो । बैठकमा गत वर्ष २०८०/०८१ को प्रगति समीक्षा र चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम र तयारी बारे सँगै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रणनीतिक तयारी थाल्ने गरी छलफल भएको परिषद्का महाशाखा प्रमुख राम प्रसाद आचार्यले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button