तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा वृद्धलाई ठक्कर दिई फरार जिपचालक पक्राउ

तनहुँ-तनहुँको आँबुखैरेनीमा बिहीबार बिहानै बोलेरो जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि फरार चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट ११ का २४ वर्षीय दीपक दर्जी रहेका छन् ।

जिपले बिहीबार बिहान सवा पाँच बजे आँबुखैरेती गाउँपालिका २ बगुवास्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका ३ पानीघट्टाका ७९ वर्षीय खड्गबहादुर दर्लामीको ज्यान गएको थियो । तर जीप सहित चालक भने फरार रहेको थियो । प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा शुक्रबार जिप चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बाग्लुङको बुर्तिवाङबाटत बिरामी बोकेर काठमाडौं जाँदै गरेको ध १ ज ७३८ नम्बरको बोलेरो जिपलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । बिहानै भएकाले घटना लगत्तै चालक फरार हुँदा प्रहरीले पहिचान गर्न नसकेको र राजमार्गको सीसीटीभी फुटेजमार्फत अध्ययन गर्दा सवारी पहिचान गरे पनि नम्बर चिन्न सकेको थिएन ।

धादिङस्थित बेनीघाटको फुटेज अध्ययन गरेर सोही सवारीको नम्बरसमेत पहिचान गरेपछि प्रहरीले सवारी र चालकको विवरण संकलन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । जिपका चालक सम्पर्कमा आएपछि कार्यालयबाट खटिएको टोलीले चालकलाई पक्राउ गरेको लामिछानेले बताउनुभयो ।

चालक दर्जीले घाइतेको ज्यान गएको र आफूसँग बिरामी भएकाले असुरक्षाका कारण भागेको बयान दिएको प्रहरी नायब उपरीक्षक लामिछानेले बताउनुभयो । तनहुँ जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप अनुमति लिइ प्रहरीले चालक दर्जी्विरुद्ध अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button