तपाईँ सुन्दै हुनुहुन्छः

महिलामा विषादीको उच्च सङ्क्रमण

काठमाण्डौ । नेपालका ३२.५८ प्रतिशत महिलामा विषादीको सङ्क्रमण देखिएको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

तरकारी, फलफूल, खोर, गोठलगायत विभिन्न क्षेत्रमा धेरै महिलाले काम गर्ने र त्यहाँ कीटनाशक विषादीको प्रयोग गर्दा कुनै सावधानी नअपनाउने गरेका कारण महिलामा बढी विषादीको सङ्क्रमण देखिएको कृषि तथा पशुपक्षी मन्त्रालय, बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

टाउकाका जुम्रा र कोठाभित्रको उपियाँ मार्न जथाभावी मालाथिनको प्रयोग गर्नाले पुरुषको तुलनामा महिलाको स्वास्थ्य उच्च जोखिममा भेटिएको उहाँले बताउनुभयो ।
नेपालका ६० प्रतिशत किसानले एग्रोभेटमा गएर मनलाग्दी तरिकाले विषादी खरीद गरी प्रयोग गर्ने र विषादी प्रयोग भएको अवधि पूरा नभई तरकारी र फलफूलको व्यापार गर्ने तथा समय नपुगी गोठ र खोरमा छिर्ने गर्नाले विषादीको सङ्क्रमण बढेको निर्देशक शर्माले उल्लेख गर्नुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक सर्जनलाल स्यायूलाले तरकारीमा प्रयोग भएका विषादी न्यूनीकरण गर्न हलुका तातोपानीमा नुन हालेर केही घण्टा डुबाएर पकाउँदा सङ्क्रमण घट्ने बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कीट विज्ञान महाशाखा प्रमुख सुनिल अर्यालले तरकारी वा फलफूल उत्पादन गर्दा प्रयोग गरेको विषादीले मान्छेलाई कुनै असर गर्दैन तर जथाभावी प्रयोग गर्दा वा प्रयोग गर्न नजान्दा त्यसले मानिसमा असर गर्ने गरेकोे जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button