तपाईँ सुन्दै हुनुहुन्छः

गाँजा र पेस्तोलसहित एकजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित पक्राउ परेका एकजनालाई आज सार्वजनिक गरेको छ ।
प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आज सार्वजनिक गरेको हो ।
स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको, प्रहरीको खोजी सूचीमा रहेको र पटकपटक आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।
लागुऔषध कारोवारीको नाइकेका रूपमा स्याङ्तानले समूह बनाएर गाँजाको कारोवार गर्ने गरेको प्रहरीको भनाइ छ ।
मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार, विगत लामो समयदेखि राजमार्गमा डकैती र लागुऔषधको कारोवार गर्ने स्याङतान पाँच वर्षअघि काठमाडौँमा १०० केजी गाँजासहित पक्राउ परेर तीन वर्षभन्दा बढी जेल सजाय काटिसकेका व्यक्ति हुन् ।
राक्सिराङका अन्य गाँजा कारोवारीलाई धम्क्याएर गाँजा लुटपाट मच्चाउने स्याङतानलाई मकवानपुर प्रहरीले निकै नै लामो प्रयासपछि पक्राउ गरेको सिंहको भनाइ छ ।
स्याङतानलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई देख्नासाथ आफूसँग भएको पेस्तोलबाट गोली चलाएको उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीका प्रमुख प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताउनुभयो ।
तत्काल प्रहरीले जवाफी फायर गरेपछि उनीसँग भएका अरु साथी भागेको र उनलाई पक्राउ गरिएको बुढाथोकीको भनाइ छ ।
प्रहरी र स्याङतान समूहबीच मकवानपुरको मनहरीमा गएराति गोली हानाहान भएको थियो ।
स्याङतानलाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी सामान्य घाइते भएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button