तपाईँ सुन्दै हुनुहुन्छः

वस्तु निर्यात १८.७ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७५–७६ को एघार महिनामा कुल वस्तु निर्यात १८.७ प्रतिशतले वृद्धि भई ८७ अर्ब ८३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ३३.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७५–७६ को एघार महिनामा कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर १२९९ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.६ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, एम.एस. बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय र नेपालगन्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि भएको नेपाल राष्ट्र बैकले शुक्रवार जारी गरेको प्रतिवेदनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button