तपाईँ सुन्दै हुनुहुन्छः

७७ प्रतिशत मुद्दा फछ्र्योट

गलकोट-उच्च अदालत पोखरा, बागलुङ इजालसले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्दै आएको छ । बागलुङ इजालसले गत आर्थिक वर्ष २०७५/७६ मा ७७ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आवमा २०२ थान मुद्दा हुने अनुमान गरिएकामा असारमसान्तसम्म नयाँ ३२३ र जिम्मेवारी सरेर आएको ४९ गरी जम्मा ३७२ मुद्दा रहेकामा २८७ मुद्दा फछ्र्योट गर्न सफल भएको हो ।

आवको मसान्तसम्ममा १८९ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखिए पनि २८७ मुद्दा फछ्र्योट भइसकेको उच्च अदालत पोखरा बागलुङ इजलासले जनाएको छ । तीमध्ये सरकारी फौजदारीसम्बन्धी मुद्दा सबैभन्दा बढी फछ्र्योट भएका छन् । आवको असार मसान्तसम्म १८७ फौजदारी, ५७ देवानी मुद्दा र अन्य विभिन्न मुद्दा फछ्र्योट भएको बागलुङ इजलासका रजिष्ट्रार धु्रवकुमार ढकालले बताउनुभयो ।

यस्तै इजलासमा फागुन मसान्तसम्म दर्ता भएका ३९ निवेदनमध्ये सबै निवेदन फछ्र्योट भएका छन् । यसैगरी जिल्ला अदालत बागलुङले समेत न्यायसम्पादनमा चुस्तता देखाएको छ । अदालतले गत आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेको १४४ र आव ०७५/७६ मा परेको ४८४ गरी ६२८ मुद्दामध्ये ४२८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेकामा ४५३ मुद्दा अर्थात् ७२ दशमलव १३ प्रतिशत फछ्र्योट भएको जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो ।

हाल जिल्ला अदालतमा एक वर्ष नाघेका मुद्दा कुनै पनि नरहेको जिल्ला न्यायाधीशले बताउनुभयो । अदालत न्यायमुखी बन्नका लागि सात दिनभित्रै फैसला लेखनकार्य हुने उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार ढकालको भनाइ छ । अदालतमा गत आवमा जम्मा १७६ मुद्दा दर्ता भएका थिए । इजलासले गत वर्ष दर्ता भएका मुद्दाका आधारमा यो वर्ष दर्ता हुने मुद्दाको अनुमान गर्दै मुद्दा फछ्र्योटको लक्ष्य निर्धारण गर्दै आएको छ । स्थानीय तह आइसकेपछि मुद्दाको सङ्ख्या बढ्दै गएको उच्च अदालत पोखरा बागलुङ इजालसका मुख्य भई काम गर्ने न्यायाधीश हरिप्रसाद पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button