तपाईँ सुन्दै हुनुहुन्छः

विसङ्गति अन्त्य गर्न चिकित्सा शिक्षालाई स्वास्थ्य मन्त्रालयअन्तर्गत ल्याउनुपर्छ : उपप्रधानमन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चिकित्सा शिक्षालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
चिकित्सा शिक्षा आयोगद्वारा आज आयोजित चिकित्सा शिक्षासम्बन्धी कार्यक्रममा उपप्रधानमन्त्री यादवले त्यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री यादवले भन्नुभयो, “चिकित्सा सेवाअन्तर्गत शिक्षा पर्छ । शिक्षा एकातिर सेवा अर्काेतिर रहँदा चिकित्सा शिक्षामा विसङ्गति बढेको हो । विसङ्गति अन्त्य गर्न चिकित्सा शिक्षालाई स्वास्थ्यमा ल्याउनुपर्छ ।”
उपप्रधानमन्त्री यादवले चिकित्सा शिक्षाको उन्नयनका लागि निजीक्षेत्रसँगको थप सहकार्य आगामी दिनमा जरुरी रहेको चर्चा गर्दै निजी चिकित्सा शिक्षा सञ्चालन गर्नेको समस्यालाई सरकारले सम्बोधन गर्ने जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री यादवले भन्नुभयो, “मेडिकल कलेज माफियाले सञ्चालन गरेका हुन्, यिनले त लुट्न मात्र जानेका छन् भन्ने मानसिकता त्याग्नुपर्छ । कहीँकतै नराम्रो काम गरेका भए सही बाटोमा ल्याउनुपर्छ । बन्ध्याकरण र बन्देज लगाउनुहुँदैन ।”
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सा शिक्षा प्रदान गरेका नेपालका सरकारी तथा निजीक्षेत्रका कलेज दक्षिण एशियामा नै उत्कृष्ट रहेको चर्चा गर्दै चिकित्सा शिक्षा अध्ययन गर्न विदेशीने प्रवृत्तिलाई रोक्न जरुरी रहेको वताउनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले प्रतिष्ठानले चिकित्सा शिक्षाअन्तर्गत जुम्लामा एमबिबिएस र बि. फर्माको पठनपाठन शुरु गराउन भौतिक संरचना, विभागीय गठन तथा पाठ्यक्रम तयारी लगभग पूरा गरेको जानकारी दिनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. उषा झाले एमबिबिएसको साझा प्रवेश परीक्षा पाठ्यक्रम तथा परीक्षा र शुल्क निर्धारणका लागि द्रूत गतिमा काम गर्न सुझाव दिनुभयो ।
शिक्षा सचिव खगराज बरालले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छिट्टै चयन हुने जानकारी दिँदै आयोगलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
आयोगका सदस्य–सचिव चन्द्रकान्त भुसाल र उपसचिव तुलसीप्रसाद आचार्यले आयोगले चिकित्सा शिक्षा नियमावली तथा सङ्गठन संरचना, शुल्क निर्धारण, एकीकृत प्रवेश परीक्षासम्बन्धी काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button