तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स

काठमाडौं । सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ ।
संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ ।
नेपाल एयरलाइन्सले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाइन्सलाई उछिन्दै एक नम्बरमा स्थान जमाएको हो । आर्थिक सङ्कटमा परेपछि जेट एयरवेज केही महीनादेखि बन्द रहेको छ ।
बढी पर्यटक बोक्ने एयरलाइन्सको दोस्रोमा जेट एयरवेज, तेस्रोमा कतार, चौथो स्थानमा फ्लाई दुबई र एयर इन्डिया रहेका छन् ।
सन् २०१७ मा जेट एयरवेज प्रथम, नेपाल एयरलाइन्स दोस्रो, कतार एयरवेज तेस्रो, एयर अरेबिया चौथो र फ्लाई दुबई पाँचौँ स्थानमा रहेको थियो ।
प्रतिवेदन अनुसार, सन् २०१८ मा निगमले चार लाख ९३ हजार १७० यात्रुलाई सेवा दिई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत ओगट्न सफल भएको छ ।
निगमले भारतका तीन गन्तव्यसहित छ देशका आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो हवाई र स्थल दुवै मार्गबाट आउने पर्यटकको सङ्ख्या हो ।
पर्यटकको सङ्ख्या बढे पनि समग्रमा पर्यटकको बसाइँ अवधि भने थोरै घटेको देखिएको छ । सन् २०१८ मा पर्यटकको बसाइँ अवधि १२.४ दिन रहेको छ । अघिल्लो वर्ष १२.६ रहेको थियो ।
नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश बिदा मनाउन र मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन् ।
सन् २०१८ मा सात लाख तीन हजार ८४३ बिदा मनाउन र एक लाख ८७ हजार ६९२ धार्मिक कामका लागि आएका थिए ।
सन् २०१७ मा छ लाख ५८ हजार १५३ बिदा र मनोरञ्जन र एक लाख ४१ हजार ३३ धार्मिक उद्देश्यका लागि नेपाल आएका थिए ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button