तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरीलाई कोशेली ‘कुखुरा र घ्यू’

पर्वत । पर्वतको विकट महाशिला गाउँपालिकाले सुत्केरी महिलालाई कुखुरा र घ्यू उपहार दिने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
सुत्केरी महिला र बच्चाको स्वास्थ्यका लागि गाउँपालिकाले ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको हो । गाउँपालिकाका सबै वडामा लागु हुने गरि यो कार्यक्रम शुरु गरिएको हो । कार्यक्रम अन्तर्गत सुत्केरीको घरमा पुगेर २ हजार रुपियाँ बराबरको घ्यू र कुखुराको भाले दिने कार्यविधि बनाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सुत्केरी हुँदा महिलाहरुले पौष्टिक आहार नपाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याईएको पौडेलले बताउनुभयो । गाउँपालिकाले जिरो होम डेलिभरि कार्यक्रम पनि शुरु गरेको छ । स्वास्थ्य संस्थामा मात्रै प्रसुती सेवा लिने गरि सबै पूर्वाधार तयार पारिएको र अबदेखि घरमा हुने सुत्केरी संख्या शुन्यमा झार्ने लक्ष्य लिईएको गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिनुभयो ।
गाउँपालिकामा जनप्रतिनिधि आउनुपुर्ब लुंखु प्राथमिक स्वास्थ्यकेन्द्र र होस्राङ्गदी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ्ग सेन्टर रहेका थिए । जनप्रतिनिधि आएपछि थप ४ वटा वडामा गाउँपालिकाले नै बर्थिङ्ग सेन्टर स्थापना गरेको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार वार्षिक सरदर ८० जना सुत्केरी हुने गरेकोमा सबै स्वास्थ्य संस्थामा नै पुगेका छन् । गाउँकै स्वास्थ्य चौकीमा यो सुबिधा भएका कारण पनि घरमा सुत्केरी गराउने चलन हटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button