तपाईँ सुन्दै हुनुहुन्छः

मच्छिन्द्र क्लब हिमालय शेर्पासँग पराजित

काठमाडौं । हिमालय शेर्पा क्लबले ललित मेमोरियन यु–१८ फुटबल च्याम्पियनसिपमा मच्छिन्द्र क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा शेर्पाले मच्छिन्द्रमाथि १–० को कठिन जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलको ६९ औं मिनेटमा अभिषेक श्रेष्ठले गरेको एकमात्र गोल नै शेर्पाको जितमा पर्याप्त बन्यो । यसअघि मच्छिन्द्रले पहिलो खेलमा संकटामाथि ४–० को जित निकालेको थियो ।

शेर्पाले च्यासलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । यससँगै समूह ‘ए’ मा शेर्पा ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । मच्छिन्द्र ३ अंकसहित दोस्रो तथा एनआरटी, संकटा र च्यासलले समान १ अंक जोडेका छन् ।

एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (कएन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह विजेता तथा उपविजेतासहित अन्य दुई उत्कृष्ट टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button