तपाईँ सुन्दै हुनुहुन्छः

खामडाँडाका ८४ घरमा केन्द्रीय विद्युत् विस्तार

खोटाङ-दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको लिलिमा र खामडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको रु ४६ लाख ९६ हजार ७०९ लागतमा विस्तार गरिएको विद्युत् मङ्गलबारदेखि औपचारिक उद्घाटन गरिएको छ । लिलिमा र खामडाँडाका ८४ घर उपभोक्ताको घरमा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शुभारम्भ गर्नुभयो ।

लिलिमा र खामडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएसँगै वडा नं१ याम्खा पूर्ण विद्युतीकरण वडा भएको विद्युत् प्राधिकरण खोटाङका प्राविधिक प्रमुख उमेशकुमार महतोले बताउनुभयो ।

उक्त गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गर्न प्राधिकरणबाट रु एक करोड बजेट आएकोमा याम्खाका लागि आर्यन कन्ट्रक्सन प्रालिले रु ४६ लाख ९६ हजार ७०९ मा ठेक्का लिएको थियो । हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा पर्ने मुख्य लाइनबाट तानिएको विद्युत् ५० केभीएको ट्रान्सफर याम्खामा जडान गरेर वितरण गरिएको स्थानीय मीनकुमार कार्कीले जानकारी दिनुभयो ।

वर्षौँदेखि टुकीको भरमा रात कटाउँदै आएका याम्खाका स्थानीयवासी केन्द्रीय प्रसारण लाइनको विद्युत् चौबीसै घण्टा उपयोग गर्न पाएपछि खुशी भएका छन् । सात वडा रहेको उक्त गाउँपालिकाको सबै वडामा यसै आर्थिक वर्षभित्र केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गर्ने योजना बनाइएको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरण खोटाङका अनुसार उक्त गाउँपालिकाको बतासे, टेम्मा र छितापोखरीमा विद्युत् विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button