तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी एकता असार महिनाभित्रैः प्रधानमन्त्री ओली

काठमाडौँ-प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीको गतिशील सोचलाई अंगीकार गरि पार्टी एकता असार महिना भित्रै पूरा गरिसक्ने बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशनले आज काठमाडौंमा आयोजना गरेको नेपालको लोकतान्त्रिक आन्दोलनमा जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राष्ट्रिय राजनीतिमा गतिशील सोच बोक्ने नेता भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार लोकतन्त्रको रक्षा र सुदृढीकरण गर्दै देशमा विकास र सुशासन कायम गर्न दृढ रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सामूहिक सहमतिबाट अघि बढ्न नसके दुई अध्यक्षमात्र हैन समग्र कम्युनिष्ट पार्टी समाप्त हुने र यसले देशकै एकता पनि खतरामा पर्न सक्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले मदन भण्डारी गतिशील सोचका कारण राजनीतिक शिखरमा स्थापीत व्यक्ति भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पहिलेदेखि नै राजनीतिक हत्या प्रतिहत्या भएपनि हत्यारा पत्ता लगाउन असफल भएको भन्दै यस्ता घटना दोहोरिन नदिन गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमा कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सिंगो राष्ट्रलाई एकताबद्ध बनाएर लैजान सकेमात्र मदन भण्डारीको नीतिको सच्चा अनुशरण भएको मान्न सकिने बताउनुभयो ।

सांसद हृदयेश त्रिपाठीले जनताले वर्तमान सरकारलाई ऐनिहासिक अवसर दिएको भन्दै सरकारको सफलता र असफता राजनीतिक कोर्ससँग जोडिएको बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघका अध्यक्ष अमृता थापाले नेता भण्डारी देशभक्त र स्पष्ट बैचारीक सिद्धान्त बोक्ने व्यक्तित्व भएको बताउनुभयो ।

फाउण्डेसनले प्रत्येक बर्ष दिदै आएको एक लाख राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष प्राध्यापक डा. सुवोध शर्मालाई दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button