तपाईँ सुन्दै हुनुहुन्छः

कुष्ठरोगका कारण ३० वर्षदेखि जङ्गलमा बसेका सुनारी घरमा फिर्ता

रामपुर-विगत ३० वर्षदेखि जङ्गलमा बास बस्दै आउनुभएका पाल्पाको निस्दी गाउँपालिकाका एक वृद्ध अहिले घर फर्कनुभएको छ । निस्दी–४ मित्यालका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब ७०० मिटर टाढा जङ्गलमा बस्दै आउनुभएको थियो । जङ्गलमा बास बस्दै करीब ३० वर्ष बिताउनुभएका सुनारीको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि स्थानीय सरकारको पहलमा उहाँलाई घर फर्काइएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, स्वास्थ्यकर्मीको टोलीले उहाँलाई घरमा फर्काएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । कुष्ठरोग लागेको थाहा पाएपछि विसं २०४० मा गाउँलेले गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजिकै पठाएका थिए । उमेरले करीब ८० वर्ष पुगेका वृद्ध सुनारीले आफू बिरामी भएपछि गाउँलेहरुले आफूलाई हेला गर्ने गरेको स्मरण गरे पनि अहिले घरमा बस्दा रमाइलो लागेको बताउनुभयो ।

जङ्गलमा बस्दा जङ्गली जनावरको डर लाग्ने बताउँदै अहिले धेरैपछि घरमा आउँदा आफँैलाई अचम्म लागेको सुनारीको भनाइ छ । अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर पहिलेदेखि नै घरमा बोलाउँदा पनि सबैले हेला गर्ने डरले नआएको बताउनुभयो । सुनारी केही समय अगाडि आफ्ना भाइसँगै बस्न थाल्नुभएको छ । यसअघि कहिलेकाहीँ गाउँमा हुने विवाह तथा चाडपर्वमा सहभागी हुने गरे पनि खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button