तपाईँ सुन्दै हुनुहुन्छः

एक मेगावाट क्षमताको विद्युत् शिलान्यास

सुर्खेत-कर्णाली प्रदेशको जुम्ला पातारासी गाउँपालिका–१ गडीगाउँस्थित एक मेगावाट क्षमताको जलविद्युत् शिलान्यास गरिएको छ । चुकेनी खोला विद्युत् सहकारी संस्थाअन्तर्गत निर्माण हुन लागेको ९९८ किलोवाट (करीब एक मेगावाट)को चुकेनी खोला साना जलविद्युत् आयोजना कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बिहीबार शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा उहाँले दुर्गमका जनताका लागि उत्पादित विद्युत् कोसेढुङ्गा सावित हुने बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले शुरु गरेको नेपालकै पहिलो जलविद्युत् आयोजनाले यहाँका नागरिकको आर्थिक स्थितिमा अपेक्षित सुधार आउने उहाँको भनाइ थियो । तिलानदीमा खेर गइरहेको पानी यहाँको जनताको अथक प्रयास र लगानीले अब माग्ने नभई दिनेमा परिणत गरिदिएको उहाँको तर्क थियो ।

चुकेनी खोला विद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले सरकारले मूल्य अभिवृद्धिमा छुट दिएकाले आयोजनाको लागत रु ४७ करोड पुगेको बताउनुभयो । अध्यक्ष बुढाका अनुसार सो आयोजना निर्माणका लागि एशियाली विकास बैंकको रु २८ करोड ४४ लाख ३० हजार लगानी छ । त्यस्तै, स्थानीयवासीको रु दुई करोड ६० लाख तथा गाउँपालिकाको रु ३० लाख शेयर लगानी, समितिको नाममा कृषि विकास बैंक जुम्लाबाट रु पाँच करोड ऋण, प्रदेश सरकारको रु एक करोड र दलित जनजातिलाई थप अनुदानवापत रु २८ लाख २८ हजार प्राप्त भएको छ ।

प्राविधिक सहयोग वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रहेको उहाँले बताउनुभयो । मूलतः यसरी निर्माण हुन थालेको जलविद्युत् कर्णालीमा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । आयोजनाबाट पातारासी, गुठीचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका करीब ४९ हजार ३६८ जनसङ्ख्या लाभाविन्त हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button